धनगढीमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ सम्पन्न

कामना सेवा विकास बैङ्कले शुक्रवार कैलाली उद्योग वाणिज्य सङ्घ अन्तर्गतका धनगढी स्थित उद्योगी व्यवसायीहरू बिच बैङ्किङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैङ्क बिच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको बैङ्कले जनाएको हो ।

पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले उक्त कार्यक्रमको मध्यस्थता गर्नुभएको थियो भने उक्त कार्यक्रममा नेपाल राष्ट्र बैङ्क, धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय र कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा वक्ताको रूपमा रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतिको लागि दीर्घकाललाई सोचेर नेपाल राष्ट्र बैङ्कले आफ्ना नीति नियमहरू तय गर्ने तथा बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिने गरेको बताउनुभयो । व्यवसायीहरूका गुनासालाई सम्बोधन गर्दै उपनिर्देशक ढकालले बैङ्क तथा वित्तीय संस्थाहरूसँगका केही गुनासाहरू भएमा नेपाल राष्ट्र बैङ्क समक्ष समेत गुनासा राख्न सकिने बताउनुभयो ।

एफसिए उमेश राज पाण्डेले आर्थिक चक्रका हरेक चरणहरूमा बैङ्क र व्यवसायीहरू बिच फरक मत रहने भएता पनि एक अर्काका परिपूरक समेत भएकोले आर्थिक अनुशासन कायम गरी व्यवसाय सञ्चालन गर्दा बैङ्क र व्यवसायीहरू बिचको सम्बन्ध सुधार हुने बताउनुभयो । कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीहरूसँग छलफल गर्नको लागि बैङ्कहरूलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैङ्कले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कोरोनाको अवस्थाबाट व्यवसायीहरू उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गर्नुभयो । साथै नियमनकारी निकायका विभिन्न नीतिहरूले व्यवसायीहरू थप आक्रान्त वनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकोले बैङ्कहरूले साना तथा मझौला व्यवसायीहरूलाई संरक्षण गर्नुपर्ने जिकिर गर्नुभयो ।

बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैङ्क तथा वित्तीय संस्थाहरू अग्रसर हुँदा व्यवसायीहरूलाई असहज महसुस भएता पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउँदै कामना सेवा विकास बैङ्कले व्यवसायीहरूका पिर मर्का बुझ्दै बैङ्कको कारोबार अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा निर्माण व्यवसायी लक्ष्मण स्वार र किशोर ठकुराठी, सुनचाँदी व्यवसायी जगत् सिजापति र कमल प्रसाद लामिछाने, यातायात व्यवसायी अनन्त राज जोशी, स्वास्थ्य तथा कृषि व्यवसायी विष्णु वुर्लाकोटी, ग्यास व्यवसायी छवि राज भट्ट लगायतले नियमनकारी निकायको कडाइ, कोभिड १९ पश्चताको कर्जा विस्तार, युवा जनशक्तिको विदेश पलायन लगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरू पलायन हुन सक्ने भएकोले नेपाल राष्ट्र बैङ्क तथा वित्तीय संस्थाहरूले सो विषयमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

बैङ्कले हालै मात्र चितवनका व्यवसायीहरू बिच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x