ज्ञानमाण्डू।मेयर र उपमेयर कप फुटबल प्रतियोगितामा छात्रमा व्यास नगरपालिका–२ सत्यवती माध्यमिक विद्यालय र छात्राको उपाधि व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले हात पारेको छ ।
व्यास नगरपालिकाद्वारा पहिलो पटक आयोजित सो प्रतियोगितामा मेयर कप छात्रतर्फ निर्मल माध्यमिक विद्यालयलाई हराउँदै सत्यवतीले र उपमेयर कप छात्रातर्फ सत्यवतीलाई हराउँदै निर्मल माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
मेयर कप छात्रतर्फ व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय द्वितीय र व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ ।
उपमेयर कप छात्रातर्फ व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय द्वितीय र व्यास नगरपालिका–१४ केशवटार माध्यमिक विद्यालय तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ३० हजार, रु २० हजार र रु १० हजारका साथै कप र प्रमाणपत्र प्राप्त गरेका छन् । मेयर कप छात्र फुटबलतर्फ १४ र उपमेयर कप छात्रा फुटबल तर्फ ४ वटा विद्यालयको सहभागिता रहेको थियो ।
छात्रतर्फ उत्कृष्ट खेलाडीमा सत्यवतीका अनिष आले, सर्वाधिक गोलकर्ता सत्यवतीकै सफल मल्ल र उत्कृष्ट गोलरक्षक निर्मलका पुजन गोशली घोषित भएका छन् । अनुशासित टिमको उपाधि बालमन्दिर माविले हात पारेको थियो । छात्रातर्फ उत्कृष्ट खेलाडीमा निर्मलकी अस्मि दुलाल, सर्वाधिक गोलकर्तामा निर्मलकै शिला कार्की र उत्कृष्ट गोलरक्षकमा निर्मलकै रेजिना राई घोषित भएका छन् । अनुशासित टिमको उपाधि बाराही आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
विजेतालाई बिहीबार गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले पुरस्कार वितरण गरे । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मीरा जोशीले खेल क्षेत्रको विकासका लागि नगरपालिका क्रियाशील रहेको बताए ।रासस