काम पूरा नगरी भुक्तानी माग्न गएपछि...

ज्ञानमाण्डू।अघिल्लो वर्षमै निर्माण भइसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडक खण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पुरै मापदण्ड विपरीत गरेको पाइएको छ । 

रु ४२ लाखमा ग्राभेल निर्माण गर्ने सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म सो सडक खण्डभित्र नाली, पर्खाल पनि निर्माण गरेको छैन । निर्माण गरिएका सामान्य पर्खाल र नालीमा सिमेन्टभन्दा भारी मात्रामा बालुवा राखेर काम नलाग्ने अवस्था सिर्जना भएको पाइएको छ । दैनिक यो सडक भएर यात्रा गर्ने सर्वसाधारण जोखिम मोल्दै यात्रा गर्न बाध्य भए पनि बिल्डर्सले गुणस्तरीय काम गरी समयमै सक्ने कार्यमा चरम लापरवाही गरेको स्थानीयवासी पृथ्वीबहादुर खड्काले गुनासो गरेका छन् । उनले भने , “जथाभावी डोजर चलाएर हाम्रो जग्गा, जमिन भत्काउने काम भयो तर पर्खाल र नाली निर्माण गर्ने काम भएन ।” 

अहिले ठाउँ ठाउँमा माटोको थुप्रो राखेर सामान्य भएको सडकसमेत यात्रा गर्न धौधौ भएको यातायात व्यवसायी धर्मबहादुर रावतले बताए । उनी भन्छन् , “सरकारले बजेट दिएन किन भन्ने ? दिएको बजेटबाट राम्रो काम हुँदैन, तोकिएको समयमा ठेकेदारले काम गर्दैनन्, कसरी हुन्छ हाम्रो विकास ? सात वर्षदेखि यो सडक लथालिङ्ग छ ।” ग्राभेल गर्ने भनिएको सडकमा सडकसमेत फराकिलो नबनाउँदा दैनिक सास्ती हुँदै आएको छ । सडक डिभिजन कार्यालय रुकुम पश्चिम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले पटक पटक ध्यानाकर्षण गराउँदा पनि काम नभएको बताए । 

अब हर्जाना लगाएर काम लगाउने प्रयास भइरहेको भट्टको भनाइ छ । तोकिएको समयभित्र निर्माण पूरा नगर्ने, भएको सडकसमेत ज्यानमारा बनाएर बिचमा छाड्ने प्रवृत्तिका कारण विकासमा बाधा पुगेको स्थानीयवासीले बताएका छन् । बिल्डर्सका प्रतिनिधि बुद्धिबहादुर खत्री काम पूरा नगरी भुक्तानी माग्न डिभिजन कार्यालयमा गएको तर काम पूरा नभएको गुनासो आएपछि कार्यालयले भुक्तानी रोक्नुका साथै पुनः काम गर्न दबाब दिएको निर्माण व्यवसायी कृष्णविक्रम शाहले जानकारी दिए । 

अन्य काम प्रभावित: 

जाजरकोट खलङ्गा–पाँचकाटिया सडकखण्डको ट्रयाक खुला भएको सात वर्षभन्दा बढी भए पनि यो सडक खण्डमा यातायातका साधन गुड्न सकेका छैनन् । करिब २१ किलोमिटर लम्बाइ रहेको यस खण्डमा विभिन्न निकायको रु २१ करोडभन्दा बढी खर्च भइसकेको छ । बजेट जति लगानी गरे पनि काम पूरा नगर्दा सडकको हालत पुरानै रहेको छ । बर्सेनि राज्यको करोडौँ रकम खन्याए पनि सडकको काम प्रभावकारी नहुँदा दैनिक सर्वसाधारणले दुःख भोग्दै आएका छन् । 

जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया जुम्ला जोड्ने यो सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिनसकेको छैन । हिउँद याममा मात्र सामान्य ट्रयाक्टर सञ्चालन भए पनि वर्षा याममा पुरै सडक अवरुद्ध हुने गरेको छ । काम पूरा नगर्ने तर लाखौँका ठेक्का लिने चलनका कारण विकास निर्माणका बाधा पुग्दै आएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x