स्कीले तान्दै पर्यटक

ज्ञानमाण्डू।हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् । हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।

हिउँदमा हिउँ जम्ने भएकाले स्की (हिउँमा चिप्लने खेल) पर्वतीय पर्यटनको महत्त्वपूर्ण आकर्षण बनेको छ । युरोपेली मुलुकमा स्की खेल सुरु भए पनि नेपालमा यसको थालनी केही वर्षअघि मात्रै भएको हो । नेपालमा सन् २०१६ मा पहिलो पटक रसुवाको लाङटाङमा स्की प्रतियोगिता भएको थियो । लाङ्टाङको केञ्जिङ उपत्यकामा सम्पन्न उक्त प्रतियोगितामा १२ खेलाडी सहभागी थिए । अघिल्लो वर्ष मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की च्याम्पियनसिप २०१९ भएको थियो । प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडी सहभागी थिए ।

प्रतियोगिताकै निरन्तरतास्वरुप भोलिदेखि मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप २०२० प्रतियोगिता गर्न लागिएको छ । “प्रतियोगितासँगै यसले नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान गर्नेछ”, उनले भने, “स्कीलगायतका साहसिक खेलका माध्यमबाट हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत त पुग्छ नै, यसले हिउँदमा पर्यटकको आगमनलाई निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।”

मुक्तिनाथमा २० गतेसम्म हुने स्की च्याम्पियनसिपले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुग्ने विश्वास लिइएको नेपाल स्की सङ्घका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले बताए । उनले भने , “ साहसिक खेलबाट नेपाल भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्नेछ ।” स्कीका माध्यमबाट हिउँदको मौसममा पनि यहाँको पर्यटनमा चहलपहल गराउने उनको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रसकन्ट्रीमा खेल हुने सङ्घका महासचिव विजय श्रेष्ठले बताए । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यसले महत्त्वपूर्ण सहयोग पुग्ने उनको दाबी छ ।

स्कीका लागि उपयुक्त स्थान मुक्तिनाथ भएकाले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरी उक्त स्थानलाई स्की स्पोर्टस्का रूपमा विकास गरिने लक्ष्य लिइएको छ । 

आवश्यक पूर्वाधार विकास गर्नसक्ने हो भने मुस्ताङलाई स्की खेलको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सकिने सांसद प्रेमप्रसाद तुलाचनले बताए । “हालसम्म कृषि र पर्यटनले चिनिएको मुस्ताङ अब खेल पर्यटनको पनि गन्तव्य बन्ने भएको छ”, उनको भनाइ छ । 

स्की नेपालका लागि नौलो हो । यसको विकास गर्न नेपाल स्कीले औपचारिक प्रयास थालेको आठ/नौ वर्ष भएको सङ्घका सदस्य अर्जुन महर्जनले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x