
यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको महानिरीक्षक श्रेष्ठले बताए । नौ जनालाई ज्वरो आएकामा निको हुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको महानिरीक्षक श्रेष्ठले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।
दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताइन् । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने नगरप्रमुख बरालले जानकारी दिइन् । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।रासस