
ठेकेदारले जुम्लावासीलाई झुक्याएर नक्कली मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । एक दिन बिजुली आउने अनि दुई दिन नआउने क्रम भए पनि विगत दुई सातादेखि जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन लोडसेडिङ हुने गरेकोे छ । ‘प्रोग्राम लजिक कन्ट्रोल’ (पिएलसी) सफ्टवेयर बिग्रिएपछि अनिश्चितकालीन लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए । “पिएलसी सफ्टवेयरविना विद्युत् उत्पादन तथा आपूर्ति सम्भव छैन । यो सफ्टवेयर पनि तिनै ठेकेदार पासीले सञ्चालन गरेका हुन्”, प्रमुख साहुको भनाइ छ । साहुका अनुसार जलविद्युत्को सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फलो गर्ने सबै काम पिएलसी सफ्टवेयरकै हो । ठेकेदार कम्पनीले नै आएर पिएलसी सफ्टवेयर चालू नगरेसम्म खलङ्गामा लोडसेडिङ कायम रहने साहुले बताए ।
ठेकेदार पासीकै शुभकामना जेभी कम्पनीले हाइड्रो मेकानिकल पार्टहरू मात्रै आपूर्ति गर्ने हो तर त्यसले हचुवाकै भरमा मेसिन जडान र सफ्टवेयर सञ्चालन गरेपछि पटकपटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको छ । पासी नआएसम्म विद्युत् सञ्चालन मुस्किल भएको छ । कहिलेसम्म लोडसेडिङ हुने र कहिले ठेकेदार आउने कुनै टुङ्गो छैन । ठेकेदार पासीले सबै नक्कली सामानहरू मात्रै जडान गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । रासस