वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनाको तयारी

एडीबीको सहयोगमा वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजना छिट्टै अघि बढ्ने
 
ज्ञानमाण्डू। सरकारले एशियाली विकास बैंकको सहयोगमा मुलुककै प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा महत्वपूर्ण कोरिडोर परियोजना सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर नाम दिइएको उक्त परियोजना सफल भए त्यस क्षेत्रको आर्थिक विकासमा कायापलट हुने सरोकारवालाको भनाइ छ । ‘कोरिडोर योजनाको पहिचान र विकास’ सम्बन्धमा काठमाडौँमा आयोजित एकदिने कार्यशालामा सरोकारवाला निकायका प्रतिनिधिले तीन तहकै सरकारबीच समन्वय गरेर उक्त परियोजनालाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।


राष्ट्रिय शहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधारमानी तयार गरिएको राष्ट्रिय शहरी विकास रणनीतिमा प्राथमिकता साथ राखिएको कोरिडोर रणनीतिक कार्यक्रमलाई नेपाल सरकारले समावेश गरेको छ । पन्ध्रौँ योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमा प्राथमिकताका साथ अघि सारेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शहरी विकासमन्त्री प्रभु साहले वीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सकेमात्र समग्र मुलुकको विकासमा थप टेवा पुगी ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार हुने बताउनुभयो ।

वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनाबद्ध ढङ्गले अघि बढाउन जरुरी रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि केन्द्र सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो । योजना सही भयो भनेमात्र परिणाम पनि सही हुने भएकाले वस्तुवादी भएर कार्यक्रम कार्यान्वयनमा लैजान मन्त्री साहले सुझाव दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले उक्त कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक विकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताका लागि सबै पक्षको सहयोग र समन्वय महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

स्थानीय सरकारसँग साझेदारी नगरेसम्म कुनै पनि परियोजना सफल हुन नसक्ने भन्दै उहाँले तीन तहकै सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पोखरीया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले सडक पूर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमा पनि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले कोरिडोरको सीमाङ्कन गर्दा स्थानीय पालिकाबीच समन्वय गर्नुपर्ने बताउनुभयो । जीतपुर सिमरा नगरपालिकाकी उपप्रमुख सरस्वतीदेवी चौधरीले भविष्यमा हुनसक्ने सवारी चापलाई मध्यनजर गरी कोरिडोर निर्माणको योजना बनाउन सुझाव दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सबैको अपनत्व हुने गरी परियोजना सञ्चालनको खाकालाई मूर्तरुप दिइने बताउनुभयो । महानिर्देशक प्याकुरेलले सरोकार भएका निकायबाट आएका सुझावलाई समेटेर कार्ययोजना तयार पारिने जानकारी दिनुभयो । विभागका उपमहानिर्देशक कुमार घिमिरेले परियोजना सफलताको शुभकामना दिँदै सबै पक्षको सहयोगले मात्र कार्यक्रम कार्यान्वयनमा लैजान सकिने धारणा राख्नुभयो । विभागको क्षेत्रीय आयोजना समन्वय कार्यालयले गरेको कार्यक्रममा आयोजनाका निर्देशक सुरेन्द्रमोहन श्रेष्ठले सफल कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x