मङ्सिर मसान्तको तुलनामा १४ अर्ब रुपैयाँ निक्षेप भित्रिँदा कर्जा लगानी पनि समान रकमले बढ्यो


ज्ञानमाण्डू। अघिल्लो मङ्सिर मसान्तसम्मको तथ्यांकको तुलनामा पुस ९ गतेसम्म आइपुग्दा बैंकिंग प्रणालीमा १४ अर्ब रुपैंया बराबरको निक्षेप संकलन भएको छ भने सोहि अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि १४ अर्ब रुपैंयाले नै बढेको देखिएको छ। 

नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्सिर अन्तिमको तुलनामा शुक्रवार(पुस ९ गते)सम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाहरूले १४ अर्ब रुपैयाँ निक्षेप वृद्धि गर्दै कुल ४८ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । अघिल्लो महिना मङ्सिर २९ गतेको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूमा ४७ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

यस अवधिमा वाणिज्य बैङ्कहरूमा १२ अर्ब रुपैयाँ र विकास बैङ्क तथा वित्तीय संस्थाहरूबाट २ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ । अघिल्लो महिना मङ्सिर २९ सम्म वाणिज्य बैङ्कहरूमा कुल ४२ खर्ब २३ अर्ब रुपैयाँ र विकास बैङ्क तथा वित्तीय संस्थाहरूमा ५ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।


निक्षेप बढेसँगै बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्सिर अन्तिमको तुलनामा शुक्रवार(पुस ९ गते)सम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाहरूले १४ अर्ब रुपैयाँ लगानी वृद्धि गर्दै ४६ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो महिना मङ्सिर २९ गतेको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूले ४५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस अवधिमा वाणिज्य बैङ्कहरू मार्फत १२ अर्ब रुपैयाँ र विकास बैङ्क तथा वित्तीय संस्थाहरूबाट २ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ । अघिल्लो महिना मङ्सिर २९ सम्म वाणिज्य बैङ्कहरूले कुल ४० खर्ब ७६ अर्ब रुपैयाँ र विकास बैङ्क तथा वित्तीय संस्थाहरूमा ५ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

निक्षेप सङ्कलन र कर्जा लगानी समान ढङ्गले वृद्धि हुँदा बैङ्कहरूको औसत कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि पुस ९ गतेसम्म आइपुग्दा ०.१८ प्रतिशतले बढेर ९१ दशमलव ४२ प्रतिशतमा पुगेको राष्ट्र बैङ्कले जनाएको छ । औसत सिडी रेसियो मङ्सिर २९ गते ९१.२४ प्रतिशत रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x