प्रदेशहरू बीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्दछ: वरिष्ठ उपाध्यक्ष ढकाल

chandra dhakal fncci

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरूबिच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घको ३५ औँ साधारण सभा तथा ४६ औँ स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरूबिच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो ।

हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको उहाँको भनाइ छ । सरोकारवाला पक्षलाई राखेर निर्णय नगरिँदा नीति नियम व्यावहारिक बन्न नसकेको र त्यसले परिणाम दिन नसकेको ढकालले बताउनुभयो ।

“कुनै पनि देशमा छोटो समयमा आर्थिक विकास भएको छ भने स्थानीय लगानी र बाह्य लगानीलाई सपोर्ट गरेकै कारण भएको छ,” ढकालले भन्नुभयो, “मलेसियाका प्रधानमन्त्री डा.महाथिर नेपाल आउँदा उहाँलाई मैले कसरी मलेसियाको तीव्र आर्थिक विकास सम्भव भयो भनेर सोधेको थिएँ र उहाँले स्वदेशी र विदेशी दुवै लगानीलाई आफ्नै लगानीको व्यवहार गरेका कारण सम्भव भएको बताउनुभएको थियो ।” निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा साधन स्रोतको समुचित प्रयोग हुने भन्दै उहाँले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा उपस्थित कार्यक्रममा उहाँले यस प्रदेशले मुलुककै पर्यटनको नेतृत्व गर्न सक्ने बताउनुभयो । पर्यटनसँगै कृषि, जलविद्युत् लगायतका क्षेत्रमा गण्डकी प्रदेश अब्बल रहेको उहाँको भनाइ छ । उचित नीतिको अभावका कारण व्यवसायीलाई उत्प्रेरित गर्न नसकेको स्मरण गर्दै ढकालले त्यसका निम्ति पर्यटन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

मुलुकका हरेक क्षेत्रमा जाँदा पर्यटनमा केही गरौँ भन्ने स्थानीय तहका प्रमुखले आग्रह गर्ने गरेको स्मरण गराउनुभयो । आफूहरू जिल्ला नगर उद्योग वाणिज्य सङ्घको कार्यक्रममा जाँदा लगानीका सम्भावनाहरूको खोजी गर्ने गरेको र महासङ्घका अन्य सदस्यहरूलाई सहकार्यमा लगानीका लागि आग्रह गरिरहेको कार्यक्रममा ढकालले जानकारी दिनुभयो ।

लमजुङमा गैर आवासीय नेपालीसँग सहकार्य गरेर आफूले २७ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरिरहेको र उत्पादनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । लमजुङमै बैङ्किङ क्षेत्रमा पनि लगानीमा सहकार्य गरेको स्मरण गराउँदै अब भने पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न चाहेको धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x