नेपालको साहसिक तथा पर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने लक्ष्यसहित विश्वकै सबैभन्दा लामो ९७ मिटर क्यांतिलिभर ग्लास स्काइ वाक थ्रू परियोजनाको शिलान्यास सम्पन्न भएको छ। Skypeak Adventure Park Limited द्वारा निर्माण हुन लागेको उक्त महत्त्वाकाङ्क्षी परियोजनाको शिलान्यास वैदिक विधि तथा परम्परा अनुरूप कम्पनीका अध्यक्ष राम चन्द्र शर्माले गर्नुभएको हो।
करिब १ अर्ब ४० करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त अत्याधुनिक स्काइ वाक थ्रू आगामी दुई वर्षभित्र व्यावसायिक सञ्चालनमा ल्याइने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। परियोजनामा बैङ्क ऋण केवल ४० करोड रुपैयाँ मात्र रहने तथा बाँकी लगानी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट जुटाइएको जानकारी दिइएको छ।
विश्व स्तरीय प्रविधिमा आधारित ९७ मिटर लामो क्यांतिलिभर ग्लास स्काइ वाक थ्रू एकै पटक प्रति घण्टा १,००० जना पर्यटकले प्रयोग गर्न सक्ने क्षमतायुक्त हुनेछ। विशेष प्रकारको स्मार्ट ग्लास प्रविधि प्रयोग गरिने भएकाले स्काइ वाकमा हिँड्दा सिसा चर्किएको (क्र्याक भएको) अनुभूति दिलाउने रोमाञ्चक अनुभव समेत पर्यटकले प्राप्त गर्नेछन्।
परियोजनाअन्तर्गत २०० मिटर गहिराइबाट सञ्चालन हुने बन्जी जम्प, २०० मिटर लामो सोप स्विङ, अत्याधुनिक जीप कोस्टर, आकाशमै भोजन गर्ने सुविधा सहितको फ्लाई डाइनिङ तथा विद्यार्थी र बालबालिकाका लागि आधुनिक प्रविधियुक्त प्लानेटरियम निर्माण गरिनेछ।
यसै गरी स्काइपिक इड्भेंचर पार्क लिमिटेड ले कुल १ अर्ब ७० करोड रुपैयाँ बराबरको एकीकृत पर्यटन पूर्वाधार विकास योजनाअन्तर्गत नेपालकै अग्लो ५५ मिटर क्याप्सुल लिफ्ट, स्काइ ग्लास डेक, मेटल क्लाइम्बिङ, रक क्लाइम्बिङ, भ्यूज रूम, एज वाक तथा १४० फिट अग्लो आदियोगी शिवको मूर्तिसहित “आदियोगी पार्क” समेत निर्माण गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार क्यांतिलिभर वालकथ्रू बाहेक का अधिकांश पूर्वाधार आगामी दशैंभित्र सञ्चालनमा आउने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।
परियोजनामा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, आरकेडी होल्डिङ्स लिमिटेड, पन्चासे नेक्सस इन्फ्रा लिमिटेड लगायतका संस्थागत लगानीकर्तासहित करिब १,५०० जना लगानीकर्ताको सहभागिता रहेको प्रबन्ध सञ्चालक पोस्ट बहादुर खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार, “यो परियोजनाले नेपाललाई विश्व स्तरीय साहसिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।”
स्थानीय महिला सञ्चालक रेखा बानियाँ ले यस परियोजनाले बन्दीपुरको पर्यटन क्षेत्रलाई थप गुलजार बनाउने विश्वास व्यक्त गर्दै स्थानीय व्यवसाय, होटेल, यातायात तथा रोजगारी क्षेत्रमा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
त्यसै गरी सञ्चालक एवं गाउँपालिकाका पूर्व अध्यक्ष पूर्ण सिंग थापा ले यो परियोजना “नेपालको पर्यटन क्षेत्रको सपनाको ताज” बन्ने दाबी गर्दै यसले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो।
पर्यटन विज्ञहरूका अनुसार, साहसिक पर्यटन, धार्मिक पर्यटन तथा आधुनिक मनोरञ्जनलाई एकीकृत गरिएको यस प्रकारको मेगा परियोजना नेपालमा पहिलोपटक निर्माण हुन लागेको हो। परियोजना सम्पन्न भएपछि बन्दीपुर क्षेत्र दक्षिण एशियाकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
