नेपालको शेयर बजारलाई थप आधुनिक र लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘आफ्टर मार्केट अर्डर’ (AMO) प्रणाली लागू गर्ने निर्णय गरेको छ। सोमबार बसेको बोर्ड बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्ताव गरेको धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधनलाई स्वीकृति दिएको हो।
यद्यपि, यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन नेप्से सञ्चालक समितिबाट औपचारिक स्वीकृति आउन बाँकी छ। उक्त प्रक्रिया पूरा भएपछि मात्र लगानीकर्ताले नयाँ सुविधाको उपयोग गर्न पाउनेछन्।
नयाँ व्यवस्थाअनुसार अब लगानीकर्ताले नियमित कारोबार समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहेक पनि शेयर खरिद/बिक्रीका लागि अर्डर राख्न सक्नेछन्। ‘आफ्टर मार्केट अर्डर’ का लागि कुनै निश्चित समय सीमा नतोकिएकाले प्रयोगकर्ताले आफू अनुकूल समयमा अर्डर राख्न सक्नेछन्, जुन अर्को कारोबार दिन बजार खुल्ने बित्तिकै प्राथमिकताका आधारमा कार्यान्वयन हुनेछ।
यो सुविधा विशेष गरी विदेशमा रहेका नेपाली लगानीकर्ताका लागि लाभदायक हुने अपेक्षा गरिएको छ, किनकि समय क्षेत्रको फरकका कारण उनीहरूलाई हालसम्म नियमित समयमा कारोबार गर्न कठिनाइ हुँदै आएको थियो। साथै, कार्यालय समयमा व्यस्त रहने पेसाकर्मीहरूका लागि पनि यो व्यवस्था उपयोगी हुने देखिन्छ।
यस प्रणालीको कार्यान्वयनपछि बजारमा लगानीकर्ताको सहभागिता बढ्नुका साथै माग आपूर्तिमा सन्तुलन आउन सक्ने र कारोबार रकममा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।
सेबोनको नयाँ पहल: ‘आफ्टर मार्केट अर्डर’ प्रणालीबाट अब जुनसुकै समयमा शेयर अर्डर गर्न सकिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
