ग्लोबल आइएमई बैङ्क लिमिटेडको १८औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैङ्कले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात् कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्ध पत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।
बैङ्कले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।
प्रस्तावित बोनस शेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभामा अध्यक्ष ढकालले बैङ्कले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो ।
साथै, बैङ्कले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
ग्लोबल आइएमई बैङ्क “ग्लोबल फाइनान्स”को “वेस्ट बैङ्क अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित भएको छ ।
बैङ्कले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैङ्कका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैङ्कले रेमिटेन्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिटेन्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ ।
ग्लोबल आइएमई बैङ्कको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%