अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई एक नम्बर बैङ्क बनाउने गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिवार उद्घाटन गर्दै उहाँले बदलिँदो समयसँगै सबै कुराहरूलाई रूपान्तरण गरी अग्रणी बैङ्क बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैङ्कले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्ने गरी कार्य गर्न बैङ्क व्यवस्थापनलाई अनुरोध गर्नुभयो । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैङ्कले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैङ्क बनाउन आग्रह गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताउनुभयो । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफूहरू सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैङ्कका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गर्नुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैङ्कले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताउनुभयो । उहाँले वित्तीय साक्षरता, सामाजिक सामुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैङ्कको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताउनुभयो । प्रतिस्पर्धी बजारको माग अनुसार बैङ्कले सेवा र सुविधाहरूलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैङ्कले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताउनुभयो ।
साझा प्रतिबद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैङ्कलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैङ्क उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बाबजुद बैङ्कले आफ्ना सूचकहरूलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराउनुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्यालले ब्याजदरमा अहिले भइरहेको एकल अङ्कको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताउनुभयो। यसै गरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय वाणिज्य बैङ्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसै अगि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइले बैङ्कको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेको प्रति खुसी व्यक्त गर्नुभयो ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपकार्य कारी अधिकृत पवन रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा बैङ्क सञ्चालक समितिका सदस्यहरू, उपकार्य कारी अधिकृतहरू, विभागीय प्रमुखहरू, प्रादेशिक प्रबन्धकहरू, कम्पनी सचिव लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको पूर्व सन्ध्यामा वित्तीय साक्षरताको लागि प्रभात फेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी बैङ्क बन्नुपर्छ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
