नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ: ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबिचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र रुसी सङ्घको उद्योग वाणिज्य सङ्घबिच मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा भएको भेटवार्तामा ढकालले सो कुरा बताउनु भएको हो ।

रुसी सङ्घको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको प्रतिनिधिमण्डलको नेतृत्व यसका अध्यक्ष सर्गेई कातरिनले गर्नुभएको थियो ।

भेटमा ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ र रुसी सङ्घको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको बताउनुभयो ।

ढकालले मङ्गलवारको भेटले नेपाल र रुसबिचको सम्बन्धलाई थप निरन्तरता दिनुका साथै व्यापार तथा लगानी सम्बन्धलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले यो साझेदारीले दुवै देशको आर्थिक वृद्धि र विकासका नयाँ बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । भेलालाई ढकालले नेपाल र रुसबिचको कूटनीतिक सम्बन्धको लामो इतिहासबारे जानकारी दिँदै तत्कालीन सोभियत सङ्घले नेपाललाई महत्त्वपूर्ण, आर्थिक र विकास सहयोग पुर्‍याएको र नेपालको आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिन योगदान दिएको बताउनुभयो ।

उहाँले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो । साथै, यस सहकार्यले नेपाली व्यवसायहरूलाई आफ्ना उत्पादन र सेवाहरू रुसको बजारमा निर्यात गर्न मद्दत गर्न सक्ने उहाँले बताउनुभयो।

यसैबिच ढकालले रुसी प्रतिनिधिमण्डललाई नेपालमा लगानीको राम्रो वातावरण बनाउन नेपाल सरकारले १२ वटा ऐन नियम परिमार्जन गरेको जानकारी दिनुभयो । उहाँले सरकारले द्विपक्षीय लगानी सम्झौताको रूपरेखा पनि तयार गरिसकेको जानकारी दिनुभयो । उहाँले यो बहुमूल्य अवसरलाई सदुपयोग गर्न र आपसी हितका लागि आकर्षक क्षेत्रमा लगानी गर्न रुसी व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले नेपालमा लगानीका लागि सम्भावित क्षेत्रहरू पर्यटन र पर्यटन पूर्वाधार, कृषि प्रशोधन, जलविद्युत आयोजना तथा पूर्वाधार, आईसीटी, उत्पादनमूलक क्षेत्र मात्रै रहेको बताउनुभयो ।

यसैबिच, अग्रता क्रममा मन्त्रीको पद पाएका रुसी सङ्घको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष सर्गेई काटिरिनले रुसी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले थप रुसी व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउन पहल गर्ने बताउनुभयो । उहाँले रुस ठुलो बजार भएकाले नेपाली व्यवसायीलाई आफ्ना उत्पादन रसिया निर्यात गर्न सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सेन्ट–पिटर्सबर्गको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र लिपेटस्क क्षेत्रको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले पनि प्रस्तुतिहरू राखेका थिए। त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्ण अवस्थीले रुसी प्रतिनिधिमण्डललाई नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालको व्यापारिक वातावरण सुधार गर्न चालेका पहलका बारेमा जानकारी गराउनुभएको थियो ।

ढकालले आगामी वैशाख १६ र १७ गते हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुने रुसी सङ्घको उद्योग वाणिज्य सङ्घ र रुसी लगानीकर्तालाई धन्यवाद पनि दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x