पनौतीको चामखरमा पर्यटकको चहलपहल

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ को अग्लो डाँडा चामखरमा पछिल्लो समयमा पर्यटकको चहलपहल बढेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ थापागाउँका महेश थापाले दुई महिनाअघि देखि ‘भ्यु प्वाइन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएपछि अचेल दैनिक चामखर पुग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए ।

अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मूल ढोकाअघि फरफराइरहेको छ दज्र्यु (बौद्ध धर्मका मन्त्र लेखिएको झन्डा) । वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ । दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्कनुभएका उहाँले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवर्द्धनको काममा लाग्नुभएको हो । स्वदेशमा आएर केही गरौँ भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उहाँले बताउनुभयो । विदेश जानुअघि ट्राभल एन्ड टुरिजममा केही अनुभव बटुली सक्नुभएका उहाँले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेको बताउनुभयो । स्थापित हुन समय धेरै लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उहाँको भनाइ छ ।

विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरि सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनः जानुपर्ने बाध्यता रहेकामा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले व्यवसाय सुरु गरेको उहाँले सुनाउनुभयो । करिब १५ लाख लगानीमा जग्गाधनी सुकराम तामाङसँग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँच जनालाई रोजगार दिनुभएको छ । थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाउनुभएका मीना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताउनुभयो ।

“गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुसी छु,” उहाँले भन्नुभयो, “सुरुमा भनेजस्तो सेवा सुविधा नपाए पनि पछि बिस्तारै वृद्धि हुँदै जाने आशा पलाएको छ ।” अहिले सो रिसोर्टमा उहाँसँगै अन्य चार जनाले रोजगारी पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीय स्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकी डाँडालगायत हिमशृङ्खला अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।

 

रिसोर्टमा स्थानीय किसानले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र स्थानीय कुखुरालगायत उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरिएको छ । गाउँलेले उत्पादन गरेको सबै प्रकारका खाद्यान्न वस्तु आफूले खरिद गरिदिने गरेको र त्यही अनुसारको मूल्य तिरेर खरिद गर्दा किसान पनि खुसी हुने उहाँले बताउनुभयो । पाँच वर्षे योजना बनाएर काम गरिरहेको बताउने उहाँले थप संरचना निर्माण गर्ने, बगैँचा बनाउने र स्थानीय उत्पादन खरिदसँगै आफैँले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाउनुभयो ।

उहाँ पाँच वर्षभित्रमा कम्तीमा २० जनालाई रोजगारी दिने गरी अगाडि बढेको बताउनुहुन्छ । त्यहीँ पुगेर बस्न चाहनेका लागि चार वटा कोठा रहेका छन् भने सामूहिक रूपमा बस्न चाहनेका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । पनौतीबाट साँगा निस्कने हाइकिङ रुट पनि भएकाले चामखरमा पुग्नेका लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x