सिद्ध गुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल

दक्षिण एसियाकै ठुलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर स्थित सिद्ध गुफालाई पर्यटकीय गन्तव्य स्थल बनाउन पहल थालिएको छ । गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्ध गुफालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागेको हो ।

त्यसका लागि गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्ध गुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । जनपर्यावरणमैत्री तथा सिद्ध गुफा विकास कार्यक्रममार्फत सो ठाउँको विकास गर्न लागिएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणा पत्र पेस गरेपछि दुवै पक्षबिच सम्झौता भएको थापाले जानकारी दिनुभयो ।

स्थानीय तहले नवप्रवर्तनका माध्यमबाट स्थानीय सेवा प्रवाह, सुशासन र स्थानीय आर्थिक विकासमा योगदान दिने परियोजना प्रस्ताव पेस गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपयुक्त प्रस्ताव छनोट गरेको हो । सो कार्यक्रम सञ्चालन हुने पालिकाहरूले वार्षिक रु २५ लाखभन्दा कम आन्तरिक आम्दानी भएकाले २५ प्रतिशत र रु २५ लाखमाथि वार्षिक आम्दानी भएका पालिकाहरूले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने प्रावधान रहेको छ ।

सिद्ध गुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत कूल लागत रु एक करोड तीन लाख ९५ हजार तीन सय बजेट रहेको छ । त्यसका लागि प्रदेश सरकारले रु ७५ लाख अनुदान दिएको छ भने गाउँपालिकाले रु २८ लाख ९५ हजार तीन सय लागत साझेदार गर्नेछ ।

उक्त कार्यक्रममा स्टोन ट्रेल, रक क्लाइम्बिङ, सौन्दर्यीकरण, सत्तल पाटी पौवा निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम, कला, संस्कृति संरक्षण, पर्यटकीय स्थलको प्रवर्द्धन लगायतका कार्यक्रम गरिने थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिद्ध गुफालाई दक्षिण एसियाकै ठुलो गुफा दाबी गर्ने गरिएको छ, यस ठाउँमा पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न सकिन्छ भनेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।”

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका एक सय नयाँ पर्यटकीय स्थलमध्ये सिद्ध गुफा पनि एक हो । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट छ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ ।

विसं २०४४ चैत १३ गते स्थानीय चन्द्रबहादुर साम्लीङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक सो गुफा पत्ता लागेको थियो ।

पुरातत्त्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालिन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्त्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार पाँच सय वर्ष पुरानो मानिएको छ ।

सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्त्विक प्राचीन वस्तु, अक्षर मेटिएका तामाका पैसा, माटोबाट बनेका टुक्की, पानीका घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरका दारा, टेराकोटाको शुल्पा र सानो थाल जस्ता सामग्री इसं १६ र १७औँ शताब्दी अघिका भएको अनुमान गरिएको छ ।

केही भागमा पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो पनि छैन । करिब पाँच सय मिटर भित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठुलो छ । लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौँ आकृति हेर्न सकिन्छ । कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृति भेटिन्छन् ।

भर्‍याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँमा पुगिन्छ । त्यहाँ साहसिक खेल र्‍यापलिङ (अँध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) खेल्ने गरिने सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x