नेपालगन्जको वाटर पार्कमा आन्तरिक पर्यटकको चहलपहल

नेपालगन्जको धम्बोझीमा अवस्थित वाटर पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनः निर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटर पार्क सहरको बिच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।

वाटर पार्कको पुनः निर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो । “यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ”, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका रिजालले भन्नुभयो, “वाटर पार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत सङ्कलनको माध्यम पनि बन्दै गएको छ ।”

नेपालगन्जमा गर्मी सुरु भएसँगै वाटर पार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटर पार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताउनुभयो ।

वि.सं. २०६५ मा सुरु भएको वाटर पार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदै छ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटर पार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छ भने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटर पार्क क्षेत्रभित्र छदेखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगन्जको सुर्खेत रोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटर पार्कसँग जोड्ने योजना छ । वाटर पार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ । एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताउनुभयो ।

वाटर पार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो । कम्पनीले वाटर पार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो ।

पर्यटकले मोटरबोट चढ्न रु दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्ग मिटरको तालमा पर्यटकले मोटर बोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटर पार्कमा जेटस्कि, पाँच वटा पावरस्पोर्ट्स, फ्लोटिङ रेस्टुरेन्ट, अपोजिट बन्जी, साइक्लिङ, जिप लाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x