म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटेल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दशैंलगत्तै पाहुनाको चाप बढेर होटेल भरिभराउ भएका जानकारी दिनुभयो ।

“देशका विभिन्न ठाउँमा भ्रमणमा आएका पाहुनाले होटेल भरिएका हुन”, गलेश्वरमा रहेको होटेल याकका सञ्चालकसमेत रहेका आचार्यले भन्नुभयो, “पोहोर परार सालभन्दा यसपालि पर्यटक आगमन राम्रो छ ।” बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिङ्गा तातोपानीका होटेल पाहुनाले भरिभराउ बनेका हुन् ।

होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अनुसार बेनीमा रहेका ५० होटेलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । दशभन्दा बढी सुविधायुक्त होटेल रहेको भुरुङ तातोपानीका होटेल व्यवसायी राजु हमालले तीन दिनयता सबै होटेल पाहुनाले भरिभराउ रहेका बताउनुभयो ।

बडादशैंको टीकाको भोलिपल्टदेखि काठमाडौँ, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले तीन दिनयता दैनिक चारदेखि पाँच हजार पाँच सय पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिनुभयो ।

“कात्तिक ९ गते एक हजार दुई सय सवारीसाधनमा पाँच हजार पाँच सय, १० गते नौ सय ७४ सवारीसाधनमा पाँच हजार र शनिवार सात सय सवारीसाधनमा चार हजार जना मुस्ताङ भित्रिएका छन्”, उहाँले भन्नुभयो, “अन्य समयमा दैनिक डेढ सयदेखि दुई सय सवारीसाधनमा पर्यटक भित्रने गरेका थिए ।”

महतका अनुसार जिप, बसको तुलनामा मोटरसाइकल, निजी गाडी र स्कुटरमा मुस्ताङ घुम्न जाने बढी छन् । पर्यटकीय याम, अनुकूल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेसा व्यवसाय गर्नेहरू मुस्ताङ घुम्न आएका घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका मार्फाका होटेल व्यवसायी राजु लालचनले बताउनुभयो ।

“पोहोर साल दसैँमा वर्षाताका कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि दुःख पाए”, उहाँले भन्नुभयो, “यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजेका छन् ।” शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । विदेशीभन्दा नेपाली पर्यटकको सङ्ख्या बढी रहेको होटेल व्यवसायीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x