नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको थप साझेदारीका लागि आह्वान गर्नु भएको छ ।
'राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३' का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडी बढिसकेकाले थप सहजीकरण गर्न सरकार सँग आग्रह गर्नु भएको हो ।
डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता छ । सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी छ । सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन गरेको पनि अध्यक्ष ढकालले बताउनु भयो । सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरूले निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्ट लगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ समाधान गर्न पनि अध्यक्ष ढकालले सरकार सँग आग्रह गर्नुभयो ।
सूचना प्रविधिको उपयोगबाट बढी भन्दा बढी फाइदा लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्ट अप पोलिसी तत्काल पारित गर्न, डिजिटल सिग्नेचर लाई मान्यता दिई प्रयोगमा ल्याउन, कर, ब्याजदर लगायतमा सुविधा दिएर सूचना प्रविधि हवको विकासमा सघाउन पनि अध्यक्ष ढकालले सरकार सँग आग्रह गर्नुभयो ।
प्रविधिबाट कोही वञ्चित नहोस् भन्ने मान्यतामा दृढ रहँदै डिजिटल डिभाइड कम गर्न सूचना तथा सञ्चार प्रविधिलाई थप सहज र सर्वसुलभ बनाउने प्रयासमा सबै क्षेत्रले योगदान गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भएको छ ।
सूचना प्रविधिको प्रयोग मार्फत नेपाली उत्पादन र सेवाको निर्यात बढाउन निजी क्षेत्र र सरकार बिच थप साझेदारीका लागि अध्यक्ष ढकालको आह्वान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
