
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।
उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा चालुतर्फ रु ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
उपमहानगरले आगामी आवमा आन्तरिक स्रोतबाट रु ८५ करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्टाइएको बताउनुभयो ।
उपमहानगरले वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरिएको अर्यालले बताउनुभयो । यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत बुटवल ११ मा एक सय बेडको अस्पताल स्थापनाका लागि रु पाँच करोड छुट्टाएको छ । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न रु एक करोड, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन रु एक करोड बजेट विनियोजन गरिएको पनि उल्लेख छ ।
बजेटमा बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने, ज्येष्ठ नागरिक लक्षित बा आमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ ।
शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसङ्ख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको र शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु पाँच करोड छुट्टाइएको र ‘छोरी पढाऔँ, समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले रु २५ लाख छुट्टाएको पनि अर्यालले उल्लेख गर्नुभयो ।
उपमहानगरले विद्यार्थीसँग नगरप्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैङ्क खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजा खुवाउने विद्यालयमा रु १० थप गरी रु २५ गराउने जस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ । यस्तै यस वर्ष लुम्बिनी बस टर्मिनलमा विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नान घर, निःशुल्क वाइफाइ, सुरक्षित विश्राम स्थल निर्माण गर्न रु एक करोड र उज्यालो बुटवल कार्यक्रमअन्तर्गत बुटवल चिडिया खोलादेखि योगी कुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि रु चार करोड बजेट विनियोजन गरिएको छ ।
मुख्य राजमार्ग, भित्री सडक सौन्दर्यीकरण, ट्राफिक लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् । बजेटमार्फत जित गढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जित गढी युद्ध सङ्ग्रहालयजस्ता स्थानलाई नगरको गौरव सम्पदाका रूपमा प्रवर्द्धन गर्ने भनिएको छ । जित गढी किल्ला नजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि रु तीन करोड बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताउनुभयो ।
बुटवललाई उत्कृष्ट पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदल मार्ग निर्माणका लागि रु एक करोड, पैदल मार्गमा शिव मूर्ति निर्माणका लागि रु एक करोड र हिल पार्कमा बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेटमा समावेश छन् ।
बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीय स्थलहरू जोड्ने र बुटवल–चितवन–पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने, रात्रिकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा देखिने कार्यक्रमका रूपमा रहेका छन् ।
बुटवललाई रोजगार र स्वरोजगारका स्थापित गर्न गृहिणी महिलालाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि रु तीन करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न रु एक करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि रु ५० लाख बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताउनुभयो ।
बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न बुटवलले रु दुई करोड छुट्टाएको छ ।
मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतीक्षालय निर्माणका लागि रु दुई करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्राम स्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि रु एक करोड ५० लाख छुट्टाएको बजेटमा उल्लेख छ । यस्तै, वडाहरूको समग्र विकासका लागि रु १६ करोड ५० लाख तथा बुटवल वडा नम्बर १४ देखि १९ का छ वडालाई रु एक–एक करोड विशेष विकास कार्यक्रममार्फत खर्च गर्ने गरी व्यवस्था गरिएको छ ।
बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चार ग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम समावेश छन् । खेलकुदमा बुटवल १६ डहर गाउँमा क्रिकेट मैदान निर्माण गर्न रु एक करोड र बुटवल १३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न रु एक करोड छुट्टाएको बुटवलले आगामी आर्थिक वर्षमा मेयर कप फुटबल, उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ ।
यस्तै, खेलाडी उत्पादनका लागि खेलाडीलाई छात्रवृत्ति, प्रशिक्षण खर्च तथा पारिश्रमिक दिने र नगरको खेलकुद टोली निर्माण गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालनका लागि रु ३५ लाख विनियोजन गरिएको छ ।
 
बुटवल उपमहानगर: दुई अर्ब ९९ करोड बढीको बजेट सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    