चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको वस्तु निर्यात उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधिमा नेपालले १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु विदेश पठाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँमा सीमित थियो।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको तुलनामा आयात १५.८३ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ।
आयात संरचनामा पेट्रोलियम पदार्थ अग्रस्थानमा देखिएको छ। समीक्षा अवधिमा १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ। यसमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन तथा बिटुमिन समावेश छन्। पेट्रोलियमपछि करिब ३९ अर्ब रुपैयाँ बराबरको कच्चा सोयाविन तेल आयात भएको छ।
निर्याततर्फ भने सोयाविन तेल प्रमुख वस्तु बनेको छ। पाँच महिनामा ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ। त्यसपछि सिंथेटिक कपडा र प्लाइउड निर्यात क्रमशः १ अर्ब ३३ करोड र १ अर्ब ३२ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ।
