कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेश सरकारले बीमाको दायरा विस्तारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति बनाउने र प्रदेश बीमा नीति ल्याउने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा राहत वितरणलाई भन्दा नागरिकलाई बीमाको दायरामा ल्याउन, न्यून आय भएकाको बीमा गर्न र घर बीमालाई अगाडि बढाउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बीमा कम्पनीहरूले समयमा नै बीमा दाबी भुक्तानी नगरेसम्म बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कार्कीले समयमै दाबी भुक्तानी नदिने कम्पनीहरूलाई प्राधिकरणले कारबाही गर्नुपर्ने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम बीमालाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको अग्रसरताप्रति आभार प्रकट गर्नुभयो ।

अध्यक्ष ओझाले बीमा दाबी भुक्तानी समयमा नै गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुहुँदै मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीबाट हुने जोखिमलाई ध्यानमा राखेर हात्ती बीमालेख ल्याउन आवश्यक कार्य भइरहेको जानकारी दिनुभयो ।

‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान सञ्चालन गर्न प्राधिकरण अग्रसर हुने जानकारी दिनुहुँदै अध्यक्ष ओझाले अनौपचारिक क्षेत्रका कामदार र विपन्न वर्गलाई बीमाको दायरामा ल्याउनका लागि आवश्यक व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमाको महत्त्व, बीमा बजारको विद्यमान अवस्था र बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरणले सबै प्रदेशका लागि साझा प्रदेश बीमा नीतिको मस्यौदा तयार गर्नुपर्ने, बीमाको विकास एवम् पहुँच विस्तारका लागि सङ्घ र प्रदेशबिच सहकार्य हुनुपर्ने, जङ्गली हात्तीबाट प्रभावित क्षेत्रका लागि हात्ती बीमालेख ल्याउनुपर्ने, बीमा दाबी भुक्तानीमा ढिलाइ हुन नहुने लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश मन्त्रालयका सचिव तथा पदाधिकारीहरू र नेपाल बीमा प्राधिकरणका केन्द्रीय कार्यालय तथा प्रदेश कार्यालयका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x