नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा प्रभात फेरी कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँको भद्रकालीबाट बिहान ७ बजे सुरु भएको प्रभात फेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुनधारा, एनएसी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न वर्ग लाई लक्षित गरी गाउँ गाउँमा सेवा विस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आम रूपमा जानकारी गराउनुपर्छ ।”
बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैँ साथ र समर्थन रहने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको बताउनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, “सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवर्द्धनका विषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरुद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने विश्वास छ ।”
नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका सदस्य कपिल देव ओलीले प्राधिकरण, बीमक लगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताउनुभयो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न वर्ग लाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गर्नुभएको थियो ।
प्रभात फेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक लगायत कर्मचारीहरूका साथै नेपाल बीमक सङ्घ, नेपाल निर्जीवन बीमक सङ्घ, बीमा सर्भेवर सङ्घ र पेसागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू सहित कर्मचारीहरूको सहभागिता रहेको थियो ।
नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा प्रभात फेरी कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
