चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा नेपालले १ खर्ब २६ अर्ब बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्षको साउन देखि वैशाख मसान्तसम्ममा मात्रै १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ३ दशमलव ६१ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्मको अवधिमा नेपालबाट कुल १ खर्ब ३० अर्ब रुपैयाँ अधिकको वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालले विभिन्न देशबाट १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ अधिकको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २.३९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।
यता आयात र निर्यात दुवैमा गिरावट आउँदा व्यापार घाटा पनि सोही अनुरूप २ दशमलव २६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ अधिक रहेको थियो ।
यसरी निर्यात व्यापार घटिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा १.१४ प्रतिशतले गिरावट हुँदै ८.८३ प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ८.९३ प्रतिशतमा सीमित रहेको थियो । यता, घट्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९१.१७ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९१.०७ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा शून्य दशमलव ११ प्रतिशतको वृद्धि भएको थियो ।
१० महिनामा व्यापार घाटा ११ खर्ब माथि, निर्यातमा ३.६१ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
