एक वर्षमै १५ खर्बभन्दा बढीको व्यापार घाटा


आर्थिक वर्ष २०८१/८२ नेपालका लागि व्यापार घाटाको दृष्टिकोणले चुनौतीपूर्ण रह्यो। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो अवधिमा नेपालले कुल १६४ देशसँग व्यापार गर्दा १२७ देशसँग घाटा व्यहोरेको देखिएको छ। केवल ३७ देशसँग मात्र व्यापार नाफाको स्थिति रहेको छ, जुन नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा असन्तुलनको स्पष्ट सङ्केत हो।

साउन २०८१ देखि असार २०८२ सम्मको एक वर्षे अवधिमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तुहरू आयात गरेको छ, भने निर्यात भने २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित रहेको छ। यसबाट कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँको व्यापार घाटा भएको हो, जुन मुलुकको आर्थिक दबाबलाई अझ तीव्र बनाउने खालको आँकडा हो।

व्यापार घाटाको सबैभन्दा ठुलो हिस्सा भारत र चीनसँगको व्यापारले ओगटेको छ। भारतबाट नेपालले १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँको सामान आयात गर्दा निर्यात २ खर्ब २४ अर्ब ६८ करोड रुपैयाँमा सीमित रह्यो। यसबाट ८ खर्ब ४६ करोड ५४ लाख रुपैयाँ घाटा देखिन्छ। उता चीनसँग ३ खर्ब ४१ अर्ब १० करोड रुपैयाँको आयात र मात्र २ अर्ब ६३ करोड रुपैयाँको निर्यात हुँदा ३ खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँको ठुलो घाटा भएको छ। यी दुई छिमेकी राष्ट्रसँग मात्रै ११ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको तथ्यले नेपालको व्यापार सन्तुलन कति कमजोर अवस्थामा छ भन्ने कुरा प्रस्ट पार्छ।

भारत र चीनबाहेक पनि नेपालले अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स (युएई), इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया र अस्ट्रेलिया लगायतका देशहरूसँग व्यापक व्यापार घाटा व्यहोर्नुपरेको छ। अर्जेन्टिनासँग ९९ अर्ब २९ करोड, युक्रेनसँग २४ अर्ब ९० करोड, युएईसँग २२ अर्ब ३१ करोड, र इन्डोनेसियासँग १४ अर्ब ९१ करोड रुपैयाँ बराबरको घाटा भएको छ।

यद्यपि, केही देशहरूसँग नेपालले व्यापार नाफा पनि कमाएको छ। सबैभन्दा बढी अफगानिस्तानसँग ६८ करोड ६१ लाख रुपैयाँ नाफा देखिएको छ, जहाँ नेपालले ७७ करोड रुपैयाँको निर्यात गरे पनि आयात मात्र ८४ हजार रुपैयाँमा सीमित छ। यस्तै, डेनमार्कसँग ३३ करोड ८९ लाख र रसियासँग ७ करोड ७४ लाख रुपैयाँ व्यापार नाफा देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x