उद्योग वाणिज्य क्षेत्रका चुनौतीको समाधानका लागि विश्वविद्यालयसँग सहकार्य बढाइने: ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालय बिचको साझेदारीले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा  योगदान पुग्ने भएकाले  विश्वविद्यालयहरू सँगको साझेदारीलाई उच्च महत्त्व दिएको बताउनु भएको छ ।

आज ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धानमा समर्पित विश्वविद्यालयसँग साझेदारी गर्न महासङ्घ तयार रहेको बताउनु भएको हो । अध्यक्ष ढकालले भन्नु भयो, " उद्योग व्यवसाय क्षेत्रमा चुनौती छन् । त्यस्ता चुनौतीहरूको  समाधानका लागी उद्योग वाणिज्य महासङ्घ र विश्वविद्यालय बिच सहकार्य गर्दा पक्कै पनि नयाँ बाटो खुल्ने छ र यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुने छ।"

अध्यक्ष ढकालले महासङ्घ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय  बिच  डेढ दर्जन क्षेत्रहरूमा साझेदारी गर्न सकिने पनि उल्लेख गर्नुभयो । संयुक्त अनुसन्धान परियोजनाहरूमा सहकार्य गर्ने, उद्योगहरूबाट प्राप्त व्यावहारिक अनुभवहरू सहितको पाठ्यक्रम विकासमा काम गर्ने, विद्यार्थीहरूलाई इन्टर्नसिपहरू र कम्पनीहरूमा काम गर्ने अवसर सृजना गर्ने तथा नयाँ प्रविधिको व्यवसायीकरणका लागि उद्योगहरूमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भएको छ ।

यसै गरी महासङ्घ व्यावसायिक संस्था मात्र नभई सरकार र सरोकारवालाहरूलाई सल्लाह दिने थिंक ट्याङ्क भएकाले विश्वविद्यालयसँग मिलेर संयुक्त कार्यशाला र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सकिने,अनुसन्धान अनुदान तथा छात्रवृत्तिका लागि कोष स्थापनमा पनि सघाउन तयार रहेको अध्यक्ष ढकालेले बताउनु भएको छ ।  बिजनेस इन्क्यूबेटर, एक्सेलेटर र इनोभेसन सेन्टर स्थापना तथा सार्वजनिक-निजी-विश्वविद्यालय साझेदारीमा विश्व स्तरीय परीक्षण प्रयोगशालाहरू स्थापना गर्न सक्यौँ भने यसले नेपालको निर्यात बढाउन मद्दत गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

बदलिँदो प्रविधिलाई उपयोग गर्ने गरी  आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा  प्रभावकारिता र दक्षता बढाइ नवीन उत्पादन र सेवाहरू  दिन सक्ने अवस्थाका लागि पनि विश्वविद्यालयसँग गहन साझेदारीको प्रस्ताव गरिएको पनि अध्यक्ष ढकालले बताउनु भयो ।

अध्यक्ष ढकालले यी सबै पहलहरूको लागि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सघन साझेदारीका लागि महासङ्घको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x