सन् २०१८ देखि सिड फाइनान्सीयल एकेडेमी नेपालमा एसीसीएकाे गोल्ड लर्निङ्ग पार्टनरको रूपमा सञ्चालनमा रहेको छ । नेपाली विद्यार्थीहरू माझ एसीसीए कोर्स दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको अवस्थामा सिड फाइनान्सीयल एकेडेमीले सञ्चालन गर्दै आइरहेको एसीसीए कोर्ससँग सम्बन्धित शैक्षिक गतिविधिहरूका सम्बन्धमा एसीसीए सदस्य तथा सिड फाइनान्सीयल एकेडेमीका शैक्षिक निर्देशक श्री अनन्त गौतमसँग ज्ञानमाण्डू प्रतिनिधिले गर्नुभएको संक्षिप्त कुराकानी ।
- एसीसीए (ACCA) कोर्स भन्नाले कस्तो कोर्स भनेर बुझिन्छ ?
जुन हामीले चार्टर एकाउण्टेन्सी भनेर बुझेका छौ, सो चार्टर एकाउण्टेन्सी कोर्स बेलायतमा चार प्रकारका छन् र ती मध्येको एक हो एसीसीए । नेपालको सन्दर्भमा जो विद्यार्थीहरू एकाउन्ट, अडिट, ट्याकसेसन वा फाइनान्स विधामा इच्छुक छन् उनीहरूले प्रवीणता प्रमाणपत्र तह (+2) उत्तीर्ण गरे पश्चात् थप अध्ययनका लागि उपयुक्त हुने ग्लोबल क्वालिफिकेसन हो एसीसीए ।
- सीए (CA) र एसीसीए (ACCA) मा केही भिन्नता छ वा छैन यदि छ भने कसरी एसीसीए सीए भन्दा फरक छ बताइदिनुहोस्न ।
विभिन्न देशमा चार्टर एकाउण्टेन्सी कोर्सलाई विभिन्न नाम दिइएको हुन्छ। त्यस्तै नेपाल र भारतमा चार्टर एकाउण्टेन्सी कोर्सलाई सीए भनिन्छ भने क्यानडामा र अमेरिकामा त्यही कोर्सलाई सीपीए (CPA) भनिन्छ। त्यसै गरी बेलायतमा चार वटा प्रोफेसनल चार्टर एकाउन्टेन्ट कोर्सहरू मध्ये एकलाई एसीसीए भनिन्छ ।
नेपालमा पहिले चार्टर एकाउन्टेन्ट भन्ने बित्तिकै अडिट र करको कुरासँग जोडिन्थ्यो तर पछिल्लो समय चार्टर एकाउण्टेन्सीको दायरा फराकिलो हुँदै आएको हामी देख्न सक्छौँ।
नेपाललाई आधार मान्दै सीए र एसीसीएको फरक भन्नु पर्दा अडिट लाइसेन्समा मात्र हो। सीए र एसीसीएले गर्ने काम एउटै हो तर यदि कसैलाई अडिट नै गर्नु छ भने उसले CA नै अध्ययन गर्नु पर्दछ तर त्यो बाहेकको अन्य काम गर्ने हो भने चाहे जागिर वा व्यापार नै किन नहोस् सीए र एसीसीएमा कुनै त्यस्तो फरक छैन।
- एसीसीए को स्कोप नेपालमा कस्तो छ र विदेशमा कस्तो छ?
एसीसीए भनेको कुनै एक राष्ट्रमा मात्र केन्द्रित नभई सबै राष्ट्रहरूलाई आधार मानेर बनाइएको ग्लोबल योग्यता हो। ४/५ वर्ष यता नेपालका विभिन्न सङ्घ संस्थाहरुले रोजगारीको सूचनाहरू प्रकाशित गर्दा एसीसीए भनेरै कर्मचारीहरू माग गरेको देख्न सकिन्छ। अहिले राष्ट्र बैङ्कको हकमा पनि सो बैङ्कले सहायक निर्देशक पदमा एसीसीए भनेर खुलाएको छ भने विभिन्न वाणिज्य बैङ्कहरूले पनि एसीसीए भनेर खुलाएका छन्। एसीसीएको महत्त्व बुझेर नै हो विगत ५ वर्ष यता नेपालमा एसीसीएको दायरा फराकिलो हुँदै आएको छ।
यदि कोही विद्यार्थीले विदेश जान चाहेको खण्डमा एसीसीएको सदस्यता लिएको देश गएर त्यहाँको चार्टर एकाउन्टेन्ट बोर्डको सदस्यता लिई त्यही देशमा काम गर्न सक्दछ तर एसीसीए कोर्स गर्नेहरूले संसारको धेरै देशहरूमा त्यहाँको चार्टर एकाउन्टेन्ट सदस्यता नलिए ता पनि काम गर्न मिल्छ, किनकि आजको बजारको मागलाई एसीसीए कोर्सले पुरा गर्दै आइरहेको छ।
- एसीसीए कस्तो वर्ग र विधाका व्यक्तिहरूका लागि लक्षित हो अथवा कस्तो वर्ग र विधाका व्यक्तिहरूका लागि उपयुक्त हुनसक्छ ?
यदि कुनै विद्यार्थीलाई एकाउन्ट, ट्याक्सेसन, व्यवस्थापन, फाइनान्स,अडिट प्रति रुचि छ भने उक्त विद्यार्थीले एसीसीए कोर्स जुन सुकै विधामा प्रवीणता प्रमाणपत्र तह (+2) उत्तीर्ण गरे पश्चात् अध्ययन गर्दा उपयुक्त हुन्छ ।
त्यस बाहेक एकाउन्ट, ट्याक्सेसन, व्यवस्थापन, फाइनान्स, अडिट विधामा रुचि राख्ने जुन सुकै व्यक्ती वा सोही विधामा वा क्षेत्रमा काम गरिरहेका जुन सुकै स्तरका कर्मचारीहरूले पनि आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने अभिप्रायले स्नातक तह र स्नातकोत्तर पछि पनि यो कोर्समा आबद्ध हुन सकिन्छ र उपयुक्त पनि हुन्छ ।
- सिड (SEED) स्थापनाको पृष्ठभूमिको बारेमा केही बताइ दिनुहाेस्न ।
नेपालमा एसीसीएको पढाई भैरहेता पनि हामीले केही अभाव महसुस गरिरहेका थियौँ साथै नेपालमा एसीसीए काेर्स र यसको अध्ययन सम्बन्धी धेरै कुरा परिवर्तन गर्नु पर्ने छ भन्ने हामीलाई लागिरहेको थियो, त्यही अभिप्रायले हामी एसीसीए सदस्यता हासिल गरेका ४/५ जनाको समुह मिलेर २०१८ मा सिडको स्थापना गर्याैँ ।
- सिडले आफ्ना विद्यार्थीहरूकाे करियरमा कुनै व्यापक र सकारात्मक परिवर्तन आएको महसुस गरेको छ वा छैन ? यदि छ भने एसीसीए को Approved Learning Partner को रूपमा सिड को कुन पक्षले आफ्ना विद्यार्थीहरूकाे करियरमा त्यस्ताे परिवर्तन ल्याउन सफल भएको जस्तो यहाँलाई लाग्दछ ?
सिडमा एसीसीए अध्ययन गरेका र अध्ययनरत केही विद्यार्थी साथीहरू आफ्नो कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यसम्पादन गर्दै उच्च पदाधिकारीको रूपमा विभिन्न सङ्घ संस्थामा कार्यरत हुनुहुन्छ । हुन त ACAA कोर्स आफैमा विद्यार्थीहरूको मनोविज्ञान मजबुत बनाइ व्यक्तिगत विकास अभिवृद्धि गर्न उत्प्रेरित गर्ने कोर्स हो।
एसीसीएकाे गोल्ड लर्निङ्ग पार्टनरको हैसियतले सिडले विद्यार्थीहरूकाे व्यक्तिगत विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको, आफ्नो कार्यक्षेत्रमा विभिन्न परिस्थितिमा उच्च नैतिकता र निर्धक्कताका साथ प्रभावकारी तवरले कार्य सम्पादन गर्न सकुन् भन्ने पुनीत मनसायले Employability and Technological Skills Paper पनि सञ्चालन गरिरहेको र Employability and Technological Skills Paper पास गरेका विद्यार्थीहरूलाई प्राथमिकतामा राखी प्लेसमेन्टको लागि विभिन्न रोजगारदाता कम्पनीहरू सँग सम्झौता गरेको हुँदा सिडले आफ्ना विद्यार्थीहरूकाे करियर ग्राेथमा उल्लेख्य योगदान गर्न सफल भएको जस्तो मलाइ लाग्दछ ।
- एसीसीए (ACCA) का लागि सिड नै रोज्नु पर्ने खास कारण के हो र सिडमा विद्यार्थीहरूले अन्य एसीसीए Learning Partners मा भन्दा र नियमित कक्षाहरूमा बाहेक अन्य के कस्ता कुराहरू सिक्ने र बुझ्ने अवसरहरू पाउँछन् त ?
पहिलो, हाम्रो टिममा स्थायी, दक्ष र अनुभवी सङ्कायहरू हुनुहुन्छ जसले नियमित पाठ्यक्रममा केन्द्रित रहेर कक्षा सञ्चालन गर्नुका साथै पाठ्यक्रमको विषय वस्तुलाई व्यवहारमा कसरी उतार्न सकिन्छ र त्यस सम्बन्धी बजारमा रहेका अनुभव र उदाहरणहरूलाई विद्यार्थी समक्ष राख्नु हुन्छ, जसले गर्दा विद्यार्थीहरूले सैद्धान्तिक सँगसँगै व्यवहारिक शिक्षा ग्रहण गर्न सक्छन् । यसरी ग्रहण गरिएको शिक्षाले एसीसीएद्वारा सञ्चालित परीक्षामा राम्रो अङ्कका साथ उत्तीर्ण हुन मद्दत गर्दछ ।
दोस्रो, भौतिक कक्षाका बाबजुद हामीले भर्चुअल्ली पनि रेकर्डेड पढाइ सम्बन्धी सामाग्रीहरू सिड इ-एकेडेमी (Seed E-academy) मार्फत हाम्रा विद्यार्थीहरूलाई उपलब्ध गराउँदछौँ जसले गर्दा विद्यार्थीहरूले कक्षामा पढेका कुरा अनलाइन मार्फत घर तथा अफिसमा रहेर फेरी हेर्ने र अध्ययन गर्ने मौका प्राप्त गर्दछन्।
तेस्रो, Employability and Technological Skills paper सञ्चालन गर्ने र एसीसीए अध्ययनरत विद्यार्थीहरूको सिप विकास गर्न र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न रोजगारदाता सँगको सहकार्यमा विभिन्न तालिमहरू सञ्चालन गर्ने गर्दछाैँ ।
- महामारीको अवस्थामा सिडले आफ्ना सेवाहरूलाई कसरी सञ्चालन र विस्तार गरिरहेको छ ?
पहिलो लकडाउनले हामीलाई धेरै कुराहरू सिकायो र त्यस पछि हामीले अध्ययनका लागि आवश्यक प्राविधिक विकास सम्बन्धी केही गृहकार्य गरेर प्रभावकारी तवरले अन्लाईन कक्षाहरू सञ्चालन गर्दै आइरहेका छौ भने अहिले अन्लाईन कक्षालाई कसरी भौतिक कक्षा जस्तै आकर्षक बनाउन सकिन्छ भनेर अनुसन्धान गर्दै सो सम्बन्धी आवश्यक लगानी पनि गर्दै छौ।
- एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई यहाँले के कस्ता सल्लाह सुझाव दिन चाहनुहुन्छ ?
विद्यार्थीहरूले प्रवीणता प्रमाणपत्र तह (+2) उत्तीर्ण गरे पश्चात् थप अध्ययनका लागि आफ्नो चाहना र रुचि अनुसार आफूलाई कुन विधाको कुन कोर्स पढ्दा उपयुक्त हुन्छ भन्ने यकिन गर्नुपर्दछ । यदि विद्यार्थीहरू एकाउन्ट, अडिट, ट्याकसेसन वा फाइनान्स विधामा इच्छुक छन् भने थप अध्ययनका लागि एसीसीए कोर्स रोज्न सक्दछन् ।एसीसीए कोर्सले विद्यार्थीहरूलाई रोजगारीका लागि योग्य प्रतिस्पर्धी बनाउन सहयोग गर्ने मात्र नभई व्यवस्थापन विषयमा सिप र विशेषज्ञता हासिल गर्न पनि मद्दत गर्नेहुँदा एकाउन्ट, अडिट, ट्याकसेसन वा फाइनान्स विधामा इच्छुक विद्यार्थीहरुलाई थप अध्ययनका लागि एसीसीए उपयुक्त ग्लोबल क्वालिफिकेसन हो भन्ने सल्लाह दिन चाहन्छु ।
साथै एसीसीए ले रोजगारदाता कम्पनीहरू सँग परामर्श लिँदै आफ्नो पाठ्यक्रम परिमार्जन गर्ने भएकाले कर्पोरेट सेक्टरमा अन्य विधा भन्दा तुलनात्मक रुपमा सजिलै प्रवेश गर्न सकिने माध्यम पनि हो एसीसीए भन्ने कुरा बुझ्न सुझाव दिन चाहन्छु ।
- अन्त्यमा, सिड का भावी योजनाहरू के के हुन् बताइ दिनुहाेस्न ।
अहिले हामी एसीसीए काेर्स र यसको अध्ययन सम्बन्धी कुरामा मात्र योजनाहरू बनाइरहेका छौँ । विद्यार्थीहरूका लागि उपयुक्त अध्ययन सँग सँगै प्रभावकारी सिकाइको वातावरण निर्माण गर्ने, एसीसीए अध्ययन सकाए पछि रोजगारीका लागि बजारमा प्रतिस्पर्धा गर्दा सजिलै नियुक्त हुनका लागि दक्ष र अब्बल बनाउने हाम्रो लक्ष्य रहेको छ।
