दशैँ: टिका देखि जमरासम्मको महत्त्व

नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् पर्व का रूपमा मनाइने विजय दशमी अर्थात् बडा दशैं धार्मिक, ऐतिहासिक र सामाजिक महत्त्व बोकेको चाड हो। बाल्यकालमा दशैं त त्यसै पनि रमाइलो लाग्थ्यो। नयाँ कपडा सिलाइदिने बाजे र बज्यै मेसिन बोकेर आउनु हुन्थ्यो। उहाँहरूको आगमनले आहा दशैं आयो भन्ने भान गराउँथ्यो। रातो माटो र कमेरोले घर लिप्ने हुँदा गाउँ नै कमेरो र रातो माटोको बास्ना ले मगमग हुन्थ्यो। सहरबाट टन्न मान्छेहरू आउने सबै रमाउँदै दशैं भरिलाई पुग्ने घाँस दाउरा, दुना टपरी खुट्ने पात टिप्ने, चिउरी कुट्ने देखि लिएर दशैंको रमझमका सम्झनाहरू अनगिन्ती छन्।

 
दशैं मनाउनु पछाडि विभिन्न किंवदन्तीहरू सुन्न सकिन्छ। एउटा किंवदन्ती अनुसार मर्यादा पुरुषोत्तम रामले रावणलाई वध गरी असत्य माथि सत्यले विजयी प्राप्त गरेको दिनका रूपमा मनाउने गरिन्छ भने अर्को किंवदन्ती अनुसार महिषासुर राक्षस माथि देवी दुर्गाले विजय प्राप्त गरेको दिनका रूपमा अर्थात् दैवी शक्ति माथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा पनि दशैं मनाउने परम्परा रहेको भनेर मानिन्छ। 


दशैंको पहिलो दिन गरिने घटको पूजा अर्थात् घटस्थापनाका दिन सुख-समृद्धि र ऐश्वर्यदायक तथा मङ्गलकारीको प्रतीक मानेर घटको स्थापना गरिन्छ। दोस्रो दिन तपलाई सिद्ध गर्नका निम्ति ब्रह्मचारिणीकी स्वरूपको पूजा गरिन्छ। तेस्रो दिन अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने चन्द्रघण्टा, चौथो दिन मृत्यु ,रोग र कमजोरीबाट मुक्ति दिने कुष्माण्ड, पाँचौँ दिन ज्ञान र विद्धताको लागि स्कन्द माता, छैठौं दिन गुप्त रहस्य की प्रतीक कात्यायनी, सातौँ दिन सुख दायनी उग्र स्वरूपकी, आठौँ दिन सौन्दर्य र करुणामय महागौरी, नवौँ दिन सिद्धिदात्रीकाे पूजा गरिन्छ भने दशौँ दिन महादुर्गाको पूजा आराधना गरेर दशैं मनाउने प्रचलन छ। यसरी मानव जीवनको विभिन्न अवस्थाहरूलाई देवीको रूप दिएर पुज्ने प्रचलनलाई हेर्ने हो भने धार्मिक महत्त्व मात्र नभएर अन्य पक्षबाट पनि यस चाडलाई महत्त्वपूर्ण मान्न सकिन्छ।

 
मुख्यतः दशैंकाे महत्त्वपूर्ण पाटो भनेको रातो अक्षता र जमरा हो भने, दशैं भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा रातो रङमा पोतेको चामलको टिका र हरियो जमरा भनेर आउँछ। टीका र जमराको आफ्नै महत्त्व रहेको पाइन्छ। टीका खाद्यान्न बाली धानबाट बनेको चामलले बनाइन्छ भने जमरा जौबाट बनाइन्छ। टीकाको महत्त्वको कुरा गर्नु पर्दा - टिकाले मस्तिष्कको तापक्रमलाई सन्तुलन राख्न मदत गर्ने तर्कहरू सुन्न सकिन्छ भने अर्को महत्त्व कृषिसँग  कृषकहरूले धान र गहुँको सम्मान गर्दै आफ्नो सिरमा लगाउने भन्ने तर्कहरू पनि कतै सुन्न पाउँछौँ। टीकाको धार्मिक महत्त्वको कुरा गर्नु पर्दा टीका निधारको मध्य भाग्य अर्थात् आँखीभौँको माझमा लगाइन्छ र यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्ने र टीकाको रूपमा देवीलाई आफ्नो निधारमा चढाइने तर्क पनि रहेको पाइन्छ। यसरी दशैमा लगाउने टीकाको जस्तै जमराको महत्त्वलाई व्याख्या गर्नको निम्ति पनि विभिन्न तर्कहरू सुन्न र पढ्न पाइन्छ। जमरा नेपालमा मात्र नभएर अन्य देशमा पनि पवित्र मानेर यसको स्थापना गर्ने र नेपालमा जस्तै नदीहरूमा लगेर विसर्जन गर्ने चलन रहेको छ। इरानको नयाँ वर्ष नौराजको लागि तयार पारिने सब्जीको सजावटको लागि जमराको प्रयोग गर्ने र १३ औँ दिनको दिनमा त्यो जमरा नजिकैको नदीमा लागेर नेपालीहरूले कोजाग्रत पूर्णिमाका दिनमा गरिने विसर्जन जसरी नै विसर्जन गर्ने प्रचलन रहेको पाइन्छ। युनिभर्सिटी अफ अक्स्फोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापन दिवाकर आचार्यका अनुसार दक्षिण एसियामा पश्चिमीबाट पूर्वतिर सभ्यता सरेकाले जमराको प्रचलन पनि इरानबाट नेपाल आएको हुन सक्ने दाबी गर्छन् भने वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार जौ पहिलो अन्नबालीका रूपमा इजिप्ट, इराक र ईरानतिर बाटै उत्पत्ति भएको कारणले जमराको चलन उतैबाट आएको र खाद्यान्नको स्रोतका रूपमा भेटिएको कारणले गर्दा शिरमा सम्मान स्वरूप सिउरिने हुन सक्ने तर्क रहेको छ। त्यसै गरी प्रकाशबाट जमरालाई धेरै दिन लुकाएर राखिने हुँदा यसले धानको महत्त्व झल्काउने र यसलाई कर्म र कृषिसँग जोडेर शृङ्गारका रूपमा व्याख्या गर्ने विभिन्न तर्कहरू पनि भेट्न सकिन्छ। 

 

दीर्घायुको प्रतीक मानिने जमरालाई स्वास्थ्यको हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ। शारीरिक व्यायाम गरेर जौ वा गहुँबाट बनेको जुस पियो भने शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने र धेरै रोग निको हुने वैज्ञानिक मान्यता छ। अहिले दशैंको बेला मात्र नभई अन्य समयमा पनि जमराको जुस पिउने प्रचलन बढिरहेको छ। 

 

बडा दशैं हिन्दु धर्मावलम्बीहरूले मात्र नभई केही किरात, बुद्ध धर्म मान्नेहरू र अन्य विभिन्न समुदायले आफ्नै महत्त्व बोकेको चाडको रूपमा मनाउने प्रचलन छ। कुनै समुदायमा दशैंको बेलामा मनाउने अन्य पर्वहरूलाई पनि दशैंको रूपमा हेर्ने गरिन्छ जुन खासमा दशैं नभई अरू कुनै छुट्टै महत्त्व बोकेको चाड हुन्। दशैं मनाउने प्रचलन विभिन्न समुदायमा फरक फरक छ। सबैले दशैमा रातो टीका लगाएर मनाउने चलन छैन। कसैले सेतो र कुनै समुदायले कालो टीका लगाएर मनाउने प्रचलन रहेको देखिन्छ। कुनै किंवदन्तीका अनुसार सेतो टीकाको प्रचलन प्राचीन बोन परम्पराको निरन्तरता हो र शान्तिको प्रतीकका रूपमा सेतो टीका ग्रहण गर्ने तर्क राखेको पाइन्छ भने कुनै समुदायका अनुसार यसको कुनै महत्त्व नभएको र सामाजिक प्रभावका कारणले मात्र सेतो टीका लगाउने तर्क सुन्न सकिन्छ। मगर समुदायका केही व्यक्तिहरूका अनुसार भने आमाको साइनोको प्रतीकका रूपमा सेतो टीका लगाउने मान्यता रहेको पाइन्छ अर्थात् भैँसी गाईको दूधलाई आमाको दूध समान मान्ने र दूधबाट बनेको दहीले मुछेको सेतो टीका लगाई आमाको सम्मान गर्ने तर्कहरू सुन्न र पढ्न पनि पाइन्छ। त्यसै गरी कतिपय आदिवासी जनजातिहरूका अनुसार भने दशैंको दिन आफ्नो राज्य खोसिएकोले यो दिनलाई दुखद रूपमा भए पनि सम्झिनको लागि सेतो टीका लगाउने बताउँछन्। कतिपयले भने रातो टिकाले रगत अर्थात् युद्धको पक्षमा वकालत गर्ने हुँदा सेतो रङ्ग अर्थात् शान्तिको प्रतीकको रूपमा सेतो टीका ग्रहण गर्ने प्रचलन रहेको मान्छन् भने कतिपयका अनुसार सेतो टीका नै पहिला देखि चलिआएको प्रचलन हो, पछि नेवारहरूले व्यापारको सिलसिलामा रङ्ग भित्र्याएपछि मात्र रातो टीकाको प्रचलन आएको भन्ने तर्कहरू राखेको पाइन्छ। अझ नेवार समुदायमा त दशैंको बेला कालो टीका लगाउने प्रचलन रहेको पाइन्छ र कालो टीकालाई तन्त्र परम्परा सँग जोड्ने मान्यता पनि छ।


मुख्य रूपमा दशैंलाई राम र महादुर्गाको विजय भएको दिनको रूपमा हेर्ने र मनाउने प्रचलन देशव्यापी र विश्वव्यापी रूपमा रहेका हिन्दु धर्मावलम्बीहरूमा रहेको छ। हाम्रो समाजमा महिषासुर र रावणहरू रुपी मानवहरू व्यापक रूपमा देख्न सक्छौँ भने अन्याय र अत्याचारका बारेमा आफ्नो लागि र अरूको लागि आवाज बुलन्द गर्दै आइरहेका दुर्गाहरू पनि देख्न सकिन्छ। तर एकातिर काल्पनिक दुर्गाको पूजा गरेर अर्को तिर आफ्नै वरिपरि रहेका कमजोर र निमुखाहरू माथि अन्याय गर्ने वास्तविक जीवनका दानवरूपी मानवहरू चिनेर, त्यस्ता दानव रूपी चरित्रहरूको अन्त्य गर्नका निम्ति कुनै दशैं कुर्नु पर्दैन। तर पनि यस्ता किंवदन्तीहरूले पनि हामीहरूलाई अन्याय र अत्याचारको विरुद्धको लडाई कहिले व्यर्थ हुँदैन भन्ने खालको हौसला प्रदान गर्ने हुँदा सकारात्मक कुराको सिको गर्दै नकारात्मक कुरालाई त्याग गर्दै चाडपर्वहरूको महत्त्व लाई अझै बढी महत्त्वपूर्ण बनाउन लाग्नु पर्छ र चाडपर्वका रूपमा रहेका विकृति र विसङ्गतिलाई पन्छ्याउँदै अगाडि बढ्नु पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x