ज्ञानमाण्डू। "गल्ती न त मेरो थियो, न त ठाउँको न त लुगा को नै" यो पछिल्लो समय धेरै सुनिने नारा हो। दैनिक जसो दुर्व्यवहारका घटनाहरू सामाजिक सञ्जाल मार्फत बढ्दो क्रममा बाहिरिइरहेका छन्। यी घटनाहरू सँगै विभिन्न व्यक्तिहरूका विभिन्न विचार तथा धारणाहरू पनि आइरहेका छन्। दुर्व्यवहार को सिकार भएका महिला तथा पुरुषहरूले आफू दुर्व्यवहारमा परेको कुराहरूको खुलासा गर्दै गर्दा लगाउने लुगा, आवत जावत गर्ने ठाउँ लगायतका कुराहरूमा प्रश्न चिन्ह खडा गर्नेहरूको जमात त हामीले देख्दै नै आइरहेका छौँ । तर अहिले विभिन्न क्षेत्र वा पेसाका कारणले दुर्व्यवहारमा पर्ने र त्यस्ता क्षेत्रहरूको बहिष्कार गर्नुपर्छ भन्ने अर्को जमात पनि स्पष्ट रूपमा देख्न सकिन्छ।
दुर्व्यवहार गर्ने व्यक्ति जो कोही पनि हुन सक्छ र यसको कुनै निर्धारित क्षेत्र र सीमा हुँदैन। कुनै क्षेत्रलाई बहिष्कार गर्दैमा के दुर्व्यवहारका घटनाहरू साँच्चीकै कम हुन्छन् त ? यदि त्यसो हो भने शिक्षाको मन्दिर मानिने विद्यालयहरूमा घटिरहेका ती दुर्व्यवहारका घटनाहरू किन आइरहेका छन् त ? CWISH को तथ्याङ्क अनुसार ३३.५ देखि ४०.५ प्रतिशत बालबालिकाहरू विद्यालयमा नै शारीरिक दुर्व्यवहारको सिकार हुँदै आइरहेका छन्। विद्यालय जहाँ सही गलत छुट्टाउन सिकाइन्छ त्यहाँ नै यति ठुलो सङ्ख्यामा दुर्व्यवहार हुन्छ भने कुन आधारले कुनै पनि संस्था र क्षेत्रको कारणले दुर्व्यवहार हुन्छ भन्न सकिन्छ होला त? दुर्व्यवहार हरेक ठाउँमा हुन्छ चाहे त्यो कुनै विद्यालय होस्, कुनै कार्यालय होस्,अस्पताल होस् या कुनै सार्वजनिक स्थान नै किन नहोस्। दुर्व्यवहार दुवै महिला र पुरुषलाई हुन्छ चाहे उनीहरू शिक्षक, विद्यार्थी, डाक्टर, इन्जिनियर, प्रहरी वा जुन सुकै पेसामा किन हुन्।
ILO को सर्वेक्षण अनुसार कार्पेट उद्योगहरूमा सबैभन्दा बढी ६८.९ प्रतिशत, होटेल व्यवसायको क्षेत्रमा ४९.४ प्रतिशत, निजी कार्यालयहरूमा ४४.८ प्रतिशत, सरकारी तथा अन्य निकायहरूमा ३३.३ प्रतिशत र घरेलु दुर्व्यवहारहरू २५.३ प्रतिशत हुँदै आइरहेका छन्।
शारीरिक तथा मानसिक रूपमा दुर्व्यवहारहरू नहुने सायदै कुनै क्षेत्र होला। आखिर कुन क्षेत्रमा हरेक दिन दुर्व्यवहार हुँदैन होला र। दश जना मध्य आठ जना बालबालिकाहरू दुर्व्यवहार को सिकार हुन्छन्। तथ्याङ्कअनुसार ९१ प्रतिशत महिलाहरू र ९ प्रतिशत पुरुषहरू शारीरिक रूपमा दुर्व्यवहारमा पर्दछन्। यसरी हरेक क्षेत्रमा, हरेक ठाउँ र हरेक पेसामा संलग्न मानिसहरू हरेक दिन दुर्व्यवहार को सिकार हुँदै आइरहेको हुँदा कुनै पनि संस्था, क्षेत्र र पेसालाई दोषारोपण गर्नु अनुचित हुन्छ र यसको समाधान कुनै पनि कुराको बहिष्कार गर्नु भने होइन।
किन यौनिक हिंसा हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौँ परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौँ कानुनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यति विघ्न निरीह बने होलान् ?
पुरुष महिला दुवैले मनन गर्नुपर्ने केही कुरा छन्। मानिस जतिसुकै प्रजातान्त्रिक, न्याय प्रेमी र क्रान्तिकारी नै किन न हाेस्र, मानिसको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा उसको सबै परिचय गौण बन्दछ। यदि कसैमा यौनजन्य हिंस्रक प्रवृत्ति छ भने त्यसले उसका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त गराइदिन कत्ति पनि समय लगाउँदैन । त्यति मात्र होइन हिजोआज पुरुषको महिलाप्रति र महिलाको पुरुषप्रतिको सदाशय र मैत्री भाव मात्र नभई मानवीय र न्यायिक चरित्र नै हरदम परीक्षामा छ। हिजो थिएन भन्ने होइन, तर आज बढी छ।
समग्रमा आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ किनकि दुर्व्यवहारको सिकार जो कोही पनि हुन सक्दछ। परिवारका पुरुष तथा महिला सदस्यहरूले कतै हाम्रो परिवारका कोही सदस्य दुर्व्यवहारको सिकार वा कुनै दुर्व्यवहारमा संलग्न त छैनन् भनेर सतर्क हुने तथा साथीहरूले कार्यालय वा अन्य स्थानमा आफ्ना साथीहरू दुर्व्यवहारको सिकार भएका वा कोही दुर्व्यवहारमा संलग्न छ कि छैन भनेर सचेत भई दुवै घर र कार्यालयमा त्यस सम्बन्धी जागरूकताका लागि पहल गर्नु नै केही हदसम्म यस समस्याको समाधान हुनसक्छ।
सँगसँगै घरपरिवार, विद्यालयमा बालबालिकाको असल निगरानी गर्नुका साथै बालबालिकालाई शारीरिक हिंसा, मानसिक हिंसा, सामाजिक सांस्कृतिक हिंसा, यौनिक वा यौन हिंसा, आर्थिक हिंसा र दुर्व्यवहारका बारेमा जागरूक गराइनु पर्दछ। तब मात्र आगामी दिनमा दुर्व्यवहार र हिंसाका घटनाहरू कम हुनुका साथै कोही हिंसाको सिकार हुनुपर्दैन। सम्पूर्णले यसका लागि आफ्नो स्थानबाट भने पहल गर्नुपर्दछ।
लेखक कामना पाैड्याल सामाजिक कार्य तथा राजनीति शास्त्रको विद्यार्थी हुन् ।