ज्ञानमाण्डू।जब एक सामान्य परिवारमा बच्चा जन्मिन्छ, उसका आभिभावाकले उसलाई ठुलो मान्छे बनाउने सपना बुन्न थाल्छन् नथालुन पनि किन ? आफ्नो सन्तान सुखी र सम्पन्न होस् भन्ने चाहन कस्लाई नहोला र ? "ठुलो मान्छे" बनाउने सपना अर्थात् "डाक्टर वा इन्जिनियर बनाउने सपना" आफूले नखाएर नलगाएर ऋण गरेर नै किन नहोस् ,डाक्टर बन्न जति खर्च लागेपनि अभिभावक सो रकम खर्च गर्न तम्तयार हुन्छन्।
सन्तान हुर्किने क्रममा ,अभिभावकले बारम्बार मेरो छोराे इन्जिनियर बन्छ अथवा मेरी छोरी डाक्टर बन्छे भनिरहँदा सन्तानको मन भित्रको कुनामा गुम्सेर रहेको आफ्नो चाहना भने दबिँदै जान्छ, हराउँदै जान्छ।
SEE परीक्षा दिएर बसेका सबै विद्यार्थीमा एकतर्फ एउटा मानसिक प्रकोप हुने गर्दछ कि आफूलाई चासो भएको विषय के हो ? अर्कोतर्फ यतिका वर्ष यो बन्छ र त्यो बन्छे भनेर भरिदिएको दिमाग "अब के गर्ने?" भन्ने प्रश्नमा आएर एक्टक्क भएर रोकिन्छ। आफ्नो रुची भएको विषय एउटा छ भनेर विश्वस्त भइसकेकाहरु भने अभिभावकले आस्विकार गरिदिने कुरामा पनि विश्वस्तै हुन्छन्। कतिले अभिभावकलाई बुझाउने कोसिस गर्छन् , कतिले बुझाउने लाख कोसिस गर्दा पनि सक्दैनन् अतः कतिको इच्छा स्वीकार्य हुन्छ भने कतिको हुँदैन। आमा बुवाको चाहना एकातिर अनि आफ्नो इच्छा अर्कोतिर, मन र दिमागको द्वन्द्व अब सुरु हुन्छ।
आफूलाई मन लागेको विषय छनोट गरेर त्यसमा कसैले आफ्नो शत प्रतिशत दिन सक्छ भने उसलाई यस्तो अन्योलमा किन पार्ने ? भोलिका दिनमा अलपत्र पात्र भएको हेर्नु भन्दा बरु आफ्नो रुचिमा रमाएको र सुखी भएको देख्नुमा नै अभिभावक खुसी हुनुपर्ने हैन र ? यस्ता केही हाम्रै साथीहरूका अभिभावकहरू हुनुहुन्छ जो भन्नु हुन्छ ," आफूलाई के कुरामा रुचि छ अथवा चाख छ त्यही कुरामा लग्नु पर्छ अनि बल्ल जीवन सफल हुन्छ। सफल यसमानेमा हैन कि उसले राम्रो काम पायो , टन्न धन कमायो, महँगो साधन किन्यो वा उ बंगलोमा बस्छ, कुरा उसको खुसी र आत्मसन्तुष्टि को हो । खुसी र सन्तुष्टि बिना सफलता सधैँ अधुरो रहन्छ, अनि केही यस्ता अभिभावकहरू हुनुहुन्छ जो भन्नु हुन्छ "बेलैमा साईन्स लिएर पढेको भए आज तलाई म डाक्टर बनाउने थिए, तेरो लागि जसरी पनि जोहो गर्ने थिए । मान्छेहरू पैसाको अभावले डाक्टर इन्जिनियर बन्न पाउँदैनन् तलाई भने सामान्य झारपात विषय लिनुपर्ने ?" अतः आफ्नो लक्ष्यको पछाडि लागेका र केही गरेर देखाउँछु भन्ने अठोट लिएकाहरूको आत्मबल कम्जोर पारीदिएर आत्महत्या गर्ने सोच समेत श्रृजना गराउने अवस्था आएको पनि देखिएको छ।
समय ढिलो छिटोको मात्र कुरा हो। कसैले १५ बर्षकै उमेरमा विश्वको नामी युनिभर्सिटीबाट डिग्री हसिल गर्छन भने कसैले २५ बर्ष सम्म पनि जीवनमा के गर्ने भन्ने बारे आन्योलमै हुन्छन्न। कसैले विवाहको १० बर्ष पछि , सन्तान हुर्काउने क्रममै पढाइलाई पनि निरन्तरता दिदै-कलमसँग खेल्दै , आफुले अध्यन गरेकै विद्यालय तथा कलेजकाे सफल शिक्षक सम्म भएका हन्छन्। त्यसैले, आफ्नो रुची र प्रतिभा चिनेर अघि बढिसकेको व्यक्तिलाई अर्कै बाटो रोज्न वाध्य बनाउनु भनेको पक्कैपनि उसको भविष्यसंग खेलवाड गर्नु हो।कतिपय अवस्थामा आफुले खोजेको भन्दा वाध्यताले रोजाएको बाटो लाग्नु पर्दा बिचमै अल्मलिएर धेरै हारको सामना गरेपनि सफलताको यात्रामा आफ्ना चाहनाहरु सजाएर अझै एक नयाँ मौकाको खोजीमा अघि बढ्न हिम्मत जुटाउन सकेका व्यक्तिहरु आज खुशी र सम्पन्न छन्। सम्पन्न मात्र हुनको निम्ति आफ्नो इच्छामा आगो लगाइदिने हो भने जीवनमा सधैं खुशीको डढेलो लाग्नेछ ।
जीवनमा शिक्षाको महत्त्व अत्याधिक छ भन्ने कुरामा कसैको दुइमत नहोला। समाज सेवामा लागेर, दुखीहरूलाई उद्धार गरेर नयाँ जीवन दिनेलाई वा पूर्व मेची देखी पश्चिम महाकाली सम्म पैदल यात्रा गरेर आफ्नो देशलाई नजिकबाट नियाल्न सफल भएका व्यक्तिहरूलाई उनीहरूको परिश्रम र भोगाइले दिएको नयाँ मार्गदर्शन र गरिमामय सफलतालाई हाम्रो समाजले कसरी लिन्छ होला भन्ने विषयमा म सधैँ आन्योलमै हुन्छु। "फलानाको त तीन वटै छोरी डाक्टर छन् " "ढिस्कानाको एउटा पाइलट एउटा सी.ए. " भनेर बारम्बार आफ्नो लक्ष्यमा लगिसकेको छोरा-छोरीलाई मानसिक यातना दिइ राख्दा अन्त्यमा डिप्रेसनको सिकार बन्न बाध्य भएको उदाहरणहरुलाई अझै निरन्तरता दिने वा त्यसलाई अव इतिहासका पानामै सिमीत राख्ने हो, त्यो हाम्रै हातको कुरा हो। घरमा पाहुना आउँदा आफूले दुई पटक नदोहोराय सम्म नमस्कार गर्दैन , बिहान उठेर आफूले सुतेको बिस्तारा मिलाउन जानेकै छैन, नुहाएर फेरेको लुगा धुन जान्दैन र सानासँग मायाले बोल्दैन भने तुलनात्मक हिसाबले "फलानो जस्तो सज्जन बन्" भन्न मिल्ला तर पढाइमा तुलना गर्ने परम्पराको कारण कलिला मस्तिष्कमा आफूले आफैँलाई दोषी ठानेर कहिल्यै अब्बल हुन नसक्ने पिरले भित्री मन सम्मै गहिरो चोट पर्न जान्छ। एशियन मुलुकहरूमा यस परम्पराको प्रकोप बढि मात्रामा देखा परेको पाइन्छ। युरोपियन मुलुकहरूमा भने यस्तो पद्धतिलाई भन्दा आत्मनिर्भरता र चाहानालाई बढि प्राथमिकता दिने हुँदा जता इच्छा र चाहना छ उनीहरू त्यतै लाग्ने गर्छन् ।
जीवनलाई सार्थक बनाउनका लागि आफ्नो मनको मार्गदर्शनमा हिँड्नु पर्छ। जतिनै ठुला खुड्किलाहरू आए पनि सङ्घर्ष गर्न भने छोड्नु हुँदैन। सङ्घर्ष गर्ने क्रममा आफूलाई हौसला दिने व्यक्ति हरक्षण आफूसङगै भइदिए हुन्थ्यो भन्ने मनले सोच्ने रहेछ। विद्यार्थी जीवन होस् वा त्यस पछिको बाँकी जीवन हौसलाका लागि दुई शब्द बोलिदिने अभिभावक र शुभचिन्तक सधैँ साथमा हुने हो भने पक्कै पनि सबै हारहरू जीतमा परिणत हुने छन्। तर कुनै हौसला दिन सकिँदैन भने आधा जीवन पनि नदेखे नभोगेको बालकलाई जिउनै गाह्रो हुने गरी आफ्नो इच्छा प्रति घृणा उब्जाइदिनु त झनै पाप सरह हो।
हरेक व्यक्ति आफूमा एउटा सिंगो संसार हो। उ भित्रै हुन्छन् ब्रह्माण्डका लाखौँ तारा। फरक, मात्र सही उर्जा प्रदान गर्ने तारा रोज्न लाग्ने समय र त्यस पछिको परिश्रमको हो। ठुलो मान्छे बनाउने सपना बुन्दै गर्दा खुसी हुनुपर्छ र राम्रो मान्छे बन्नु पर्छ भन्ने कुराको गाम्भिर्यतालाई भने अभिभावकले भुल्न मिल्दैन।
-श्रेया पराजुली
Bachelors in Development Studies
National College