ज्ञानमाण्डू। बुटवलमा आजबाट शुरु भएको व्यापार मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै देश विकासका आयोजनाहरुलाई अघि बढाउन राजनीतिक नेतृत्व जागरुक र उत्सुक देखिएको बताएकाछन् ।
उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुमा आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले भन्दा प्रतिश्पर्धा देखिएको छ र यो सकारात्मक हो भने । बुटवलामा आज आयोजित बुटवल व्यापार मेलामा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दैै उनले भने– तीन तहको सरकार बनेपछि यी सरकारहरुमा आफ्ना प्रदेश र क्षेत्रमा लगानी भित्र्याउने र विकास निर्माणका कामहरु गर्ने भावना जागेको मैले पाएकोछु तर त्यसलाई गतिदिन सरकारी संयन्त्रको पुरानै मानसिकता बाधक देखिन्छ ।

उनले नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले यससँगको सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताउदै उपाध्यक्ष ढकालले सरकारले कर तथा आर्थिक क्षेत्रका विषयमा नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँगको परामर्श र सहकार्यबाट गर्न सकिएमा कार्यान्वयनमा सजिलो पर्ने र यसबाट परिणाम पनि राम्रो निस्कने धारणा राखेका छन् ।
स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवहरुमा स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पुर्याउने विषयमा ध्यान दिन व्यवसायीहरुलाई उनले सुझाव दिए । उनले भने, "म व्यवसायी मित्रहरुलाई यो आग्रह गर्न चाहन्छु कि यस्ता स्थानीय स्तरका मेला महोत्सवहरुले स्थानीय उत्पादनलाई उत्प्रेरित गर्ने र आगामी दिनमा यही क्षेत्रमा उद्यमशिलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्नुपर्दछ ।"
