स्वास्थ्य र पोषणसम्बन्धी सामूहिक प्रतिवद्धता

ज्ञानमाण्डू।जिल्लाको सत्यवती गाउँपालिकाका सरोकारवालाले स्वास्थ्य र पोषणको क्षेत्रमा सुधार गर्न प्रतिबद्धता जनाएका छन् । एकीकृत ग्रामीण विकास समाजद्वारा सञ्चालित सुआहारा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, स्वास्थ्यकर्मीलगायतले गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा सुधार गर्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । 

एकीकृत पोषणसँग सम्बन्धित नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न स्थानीय पोषणयुक्त खानालाई प्रोत्साहन गर्ने तथा व्यवहार परिवर्तनमा दिगोपना ल्याउनका लागि प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । गुणस्तरीय सेवा सबै शाखामा सुनिश्चित गर्ने, आधारभूत स्वास्थ्य र पोषण सेवा प्रत्येक घरसम्म पुर्‍याउने प्रतिबद्धता पनि सो अवसरमा गरिएको छ । 

गाउँपालिकाका सबै घरमा पिउने पानीको पहुँच, पूर्ण सरसफाइयुक्त गाउँपालिका, एक घर एक करेसाबारी, विद्यालयभित्र पत्रु खाना निरुत्साहित गर्ने तथा एकीकृत पोषणका कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने सहजकर्ता गाउँपालिकाले नियुक्ति गरी परिचालन गर्ने गर्ने निर्णय गरिएको छ । स्वास्थ्य संस्था, गाउँघर क्लिनिक र खोप क्लिनिकले निरन्तर रूपमा बच्चाको वृद्धि र बाल स्वास्थ्य कार्ड निरन्तररुपमा अद्यावधिक गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

जन्मेको दुई वर्षभित्र २४ पटक वृद्धि अनुगमन पूरा गर्ने बच्चाका आमालार्ई पुरस्कृत गर्ने, स्वास्थकर्मीले उचित तथ्याङ्क समावेश गर्ने, स्वास्थ्य तथा पोषणसम्बन्धी नियमित अभिलेख एवं मासिक तथ्याङ्कको नियमित रुजु गर्नेलगायतका नीति अवलम्बन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए । घरमा हुने सुत्केरी तथा शिशु मृत्युलाई शून्यमा झारी गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने, गाउँपालिकालाई पूर्ण पोषणयुक्त गाउँपालिका घोषणा गर्ने र गाउँपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गरिने भएको छ । 

कृषि तथा पशु सेवातर्फ पोषणयुक्त खानाको प्रदर्शनी गर्ने, थोपा सिँचाइ प्रविधि प्रवर्द्धन गर्ने, हाटबजार तथा कृषि उपज सङ्कलन केन्द्र स्थापना एवं व्यवस्थापन गर्ने नीति लिने, प्रत्येक वडामा स्वयंसेवी कृषि/पशु प्राविधिक व्यवस्था गर्ने, तथा प्रत्येक वडामा तीनदेखि पाँच जनामसम्म नमुना कृषक छनोट गर्ने सुआहाराका कर्मचारी नवीन अर्यालले बताए ।

प्रत्येक घरमा फिल्टर: 
गाउँपालिकाले खान पानीको मुहान संरक्षण गर्दै ‘एक घर–एक धारा–एक फिल्टर’ अभियान सञ्चालन गर्ने भएको छ । घरमा धारा गाउँपालिकाले पुर्‍याउने र फिल्टर नागरिकले ल्याउनुपर्ने हुन्छ । सबै वडाहरूमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा जोड दिने, बालविवाह गर्दा देखिने असरसम्बन्धी जनचेतनामूलक अभियान चलाउने पनि निर्णय गरिएको छ । 

लागूपदार्थ नियन्त्रण, आयमूलक कार्यक्रम सञ्चालन, जन चेतनात्मक कार्यक्रममा महिला तथा पुरुषको समान सहभागितालगायतका पक्षमा विशेष जोड दिने उल्लेख गरिएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । पोषण तथा खाद्य सुरक्षा समितिको नियमित बैठक राख्ने, स्वास्थ्य र पोषणसम्बन्धी सामग्रीको उत्पादन, प्रयोग र व्यवस्थापनका लागि रकम छुट्ट्याउने, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्नेलगायतका प्रतिबद्धता गाउँपालिकाले जनाएको छ । 

एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले प्रतिबद्धता कार्यान्वयनको लागि जनप्रतिनिधि र स्वास्थ्य कर्मी घरदैलोमै पुगेर जन चेतना जगाउनुपर्ने बताए । उनले सबै जनप्रतिनिधिले आफ्नो कार्यकालमा गाउँपालिकामा गर्ने विकासको नमुना बनाउनुपर्नेमा जोड दिए । 

सुआहाराले चार वर्षदेखि जिल्लाका सबै स्थानीयमा स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएको छ । यसले सुनौला हजार दिनका आमा, खाने पानी तथा सरसफाइ, किशोर–किशोरीको लागि विशेष तालीम, कृषि तथा पशुपालन, शिक्षालगायतका विभिन्न क्षेत्रमा एकीकृत ढङ्गले काम गर्दै आएको छ । सत्यवतीमा दुई दिनसम्म सञ्चालित गोष्ठीमा सुआहाराले हालसम्म गरेका काम, पोषण र स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले गरेका काम तथा गाउँपालिकाका आगामी योजनाको बारेमा छलफल गरिएको सुआहाराका फिल्ड संयोजक राजेन्द्र विकले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x