जाँगर र सीप चाहिन्छ : पैसा कमाउन कही जानुपर्दैन

ज्ञानमाण्डू।काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए उनले । पसिना बगाए । 

उनलाई सोचअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाले । उनी दुई वर्ष पूरा भएपछि जन्मस्थान फर्किए ।

उनले बाँझा रहेका बारीमा पाटामा बाख्रा पालन गर्ने सोच बुने । व्यवसाय सुरु गरे । उनले भने , “गत वर्ष बाख्राको बिक्रीबाट एक वर्षमा रु पाँच लाख आम्दानी लिएँ ।” घरको गुजारा चलाउन धौधौ परेपछि स्नातक तहको पढाइ बिचमै छाडेर उनी वैदेशिक रोजगारमा होमिएका थिए । “विदेशको मोहले न त पढाइ न त हातमा दाम, समयको बरबादी, गाउँमै बसेर पहिले नै बाख्रा पालन गरेको भए मालामाल हुने रहेछ, अहिले सम्झँदा पश्चात् लागेको छ”, उनले अनुभव सुनाउँदै भने । 

उनको फार्ममा ५० माऊ बाख्रासहित ७० वटा स्थानीय, बोयर क्रस जातका बाख्रा छन् । ५० रोपनी जग्गा भाँडामा लिएर घाँस खेतीको तयारी गर्नुभएका उनले भने , “सयभन्दा बढी बाख्रा पाल्ने लक्ष्य लिनुभएको छु ।” पशुसेवा कार्यालयले समय समयमा औषधोपचार, प्राविधिक सेवा प्रदान गरिराखेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममा छनोट गरी रु तीन लाख ऋण सहयोगसमेत गरेको छ । रामपुर नगरपालिका क्षेत्रमा बाख्रा पालन व्यवसायमा युवाको ह्वात्तै आकर्षण बढेको पशुसेवा शाखा प्रमुख मोहन भट्टराई बताउँछन् । “विदेश गएर फर्केका युवाको बाख्रा पालनमा आकर्षण बढ्दो छ, व्यवसायबाट राम्रै गरिरहेका छन्, कार्यालयले व्यवसायलाई व्यवस्थित बनाउन बेला बेलामा तालीम, आवश्यक प्राविधिक सहयोग गरिरहेको छ”, उनले भने । 

पछिल्लो समय रामपुर क्षेत्रमा व्यावसायिक रूपमा नै बाख्रा पालन गर्ने युवाको सङ्ख्या बढ्दो । बाख्राको बजार मूल्य राम्रो भएपछि कृषक व्यवसायमा आकर्षित भएका हुन् । कृषकले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् । विशेष गरी गाउँका महिलाले घरमा दुई चार वटा माऊ बाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम कोशेलीका रूपमा राख्ने गरेका छन् । 

रामपुर नगरपालिकाले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न बाख्रा पालन व्यवसायमा अनुदानलगायतका कार्यक्रम चलाइरहेको नगर प्रवक्ता हुमनाथ न्यौपाने जानकारी दिए । कृषकलाई व्यवसायमा दक्ष बनाउन विभिन्न सीप तथा ज्ञान दिने र व्यवसायबाट राम्रो कमाउने वातावरण नगरपालिकाले व्यवस्थापन गरिदिने उनले जनाए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x