‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’

ज्ञानमाण्डू।“ए हजुर, नमस्कार ! हात मिलाउने हैन, शिष्टतापूर्वक नमस्कार गरौँ ।” महोत्तरीको बर्दिवास नगरपालिकाले यो सन्देश फैलाउन अहिले अभियान नै सुरु गरेको छ । बर्दिवास नगर क्षेत्रका सघन आवतजावत हुने र मानिस जम्मा हुने चोकमा नगरप्रमुख विदुरकुमार कार्की आफैँ यो अभियानमा लागेका छन् । 

“सबैले सुन्दै हुनुहुन्छ नि..! कोरोना भाइरस भनिने सङ्क्रमणले संसारभरि नै आतङ्क मच्चाउँदो छ,” आज बिहीबार एकाबिहानै पूर्व पश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गम रहेको बर्दिवास–१ को सिन्धुलीचोकमा जम्मा भएका आम सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्दै नगरप्रमुख कार्कीले भने, “सचेतना नै कोरोना भित्रिन नदिने एक मात्र उपाय हो, त्यसैले इष्टमित्र साथीभाइ भेट हुँदा हात मिलाउने हैन, दुवै हात जोडेर विनम्रतापूर्वक नमस्कार गरौँ ।” 

बर्दिवासका १४ वटै वडामा अहिले स्थानीय जनप्रतिनिधिले अभियानकैरुपमा ‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ भन्ने नारा नै बनाएका छन् । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखाका प्रमुख र अन्य वडाध्यक्षसहित जनप्रतिनिधि एवं कर्मचारीले सामूहिकरुपमा आज बिहीबार सुरु गरेका यो अभियानले निकै चासो बढाएको छ । 

‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’ अभियान प्रत्येक वडामा वडाध्यक्षको नेतृत्वमा आजै थालिने नगरप्रमुख कार्कीको भनाइ थियो । यो अभियानसँगै कोरोना सङ्क्रमणबाट बच्ने उपायबारेको हाते पर्चा बाँड्ने र बस्ती बस्तीमा माइकिङ सुरु गरिएको छ । 

‘ध्यान दिएर सुन्नुहोस्, कोरोना सुनेर नतर्सनोस् ! सजग हुनपर्छ , हाम्रो आहारब्यहारले कोरोना सङ्क्रमणबाट बच्न सकिन्छ ।’ ठुलो स्वरमा माइकले यो सन्देश दिइरहेसँगै कोरोना भाइरसबाट बच्न सर्जिकल मास्क अनिवार्य लगाउन, हात नमिलाई नमस्कारको अभिवादन मात्र गर्न, पटक पटक पानी खाइराख्न, नाक, मुख, घाँटी छिनछिनमा पखाली रहन, समूहमा नबस्न र राम्ररी पाकेको खानेकुरा खान अपिल गरिएको छ । साथै हाते पर्चा घरघरमा पुर्‍याउने र पढेर सुनाउने गरिएको अभियानका सहभागीले बताएका छन् । 

यस्तै हाते पर्चामै रुघाखोकी लागेका व्यक्तिको संसर्गमा नरहन, भिडभाड हुने कार्यक्रम आयोजन नगर्न, यस्ता कार्यक्रममा सरिक नहुन र यसबारे शङ्का लाग्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जाँच गर्न गइहाल्न अपिल पनि गरिएको छ । 

सघन आवतजावतको पूर्व पश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गममै नगरपालिकाले थालेको यो अभियानबारे आम यात्रु, बजारु उपभोक्ता र आम सर्वसाधारणले चासो देखाएका छन् । “बर्दिवास नगरपालिकाले राम्रो अभियान थालेछ”, सधैँ जसो बिहानको घुमफिरका लागि बर्दिवास आइपुग्ने छिमेकको धनुषा जिल्ला मिथिला नगरपालिका–१० लालगढका सामाजिक, राजनीतिक कार्यकर्ता सूर्य पुडासैनीले भने, “यो अभियान अन्य स्थानीय तहले सुरु गर्नुपर्छ ।” 

सबैले सुन्नुपर्ने र बुझ्नुपर्ने यो नारा र अपिललाई घरघर पुर्‍याउन आवश्यक भएको स्वास्थ्य संस्थाका चिकित्सकको भनाइ छ । “अहिलेसम्म उपचारको कुनै प्रबन्ध नभएको यो सङ्क्रमणबाट बच्न पूर्व सजगतामात्र एक भरपर्दो उपाय हो”, बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालका चिकित्सक डा सीताराम पराजुलीले भने, “पूर्वसजगता अभियान जति व्यापक बनाइन्छ, त्यति हामी सुरक्षित हुने अवस्था बन्छ ।” बर्दिवासले यो अभियान सुरु गरेसँगै जिल्लाका अन्य स्थानीय तहले पनि कोरोना भाइरसबारे पूर्वसजगता अभियान सञ्चालन गर्न तयारी थालेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x