बन्दीपुर केबुलकारको काम तीव्र

ज्ञानमाण्डू।तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । रु एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने ,“परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम भइरहेको छ । कुनै बाधा नआएको खण्डमा आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउनेछ ।”

अध्यक्ष शर्माका अनुसार केबुलकारको टावरको खाल्डा खन्ने , पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महिनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । “केबुलकारको सामान तयार भइसक्यो, अब सामान ल्याएर जोड्ने तयारी गरिएको छ,” उनको भनाइ छ ।

केबुलकारको माथिल्लो स्टेशनमा बन्ने चार तारे होटेलको कामलाई पनि अगाडि बढाउन लागिएको छ । “केबुलकार बाहेक अन्य संरचना निर्माणका लागि केही समय लागे पनि पहिलो चरणमा केबुलकार सञ्चालनमा ल्याउने योजनाबमोजिम कामलाई तीव्रता दिइएको छ,” लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायको भनाइ छ ।

माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा होटेल निर्माण गर्नका लागि काठमाडौँस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको छ । उपाध्यायका अनुसार २५ महिनाभित्र होटेल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटेलका लागि नेपाल एसबीआई बैङ्कसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैङ्कले रु ९७ करोड ऋण दिने सहमति भएको छ । 

केबुलकार परियोजनाको परामर्शदाताको रूपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकल परामर्शदाताका रूपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् । 

प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकोमा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्त्व दिएर सुरक्षा उपकरणहरू जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । 

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठुलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । 

तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दुरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बक्सा रहनेछ । 

केबुलकार परियोजनालाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रूपान्तरण गरिएको छ । परियोजनामा रणनीति योजनाअनुरुप शेयरधनीको सहभागिता सुनिश्चित गर्ने साथै कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरूपलाई बदलेर पब्लिक कम्पनीको स्वरूपमा लगिएको छ । लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजनासमेत बनाएको छ । पहिलो पाँच वर्षलाई अल्पकालीन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालीन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालीन लक्ष्यको रूपमा वर्गीकरण गरिएको छ । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x