च्याउको सुकुटी, अचार र धुलोको माग धेरै

ज्ञानमाण्डू।पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहेकी छिन् । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उनी आकर्षित भएकी हुन् । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको बुढाले बताइन् । 

“लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र अचारको माग धेरै नै छ, माग धान्नै सकिएको छैन”, बुढाको भनाइ छ । च्याउको बजार देखेपछि बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका–१६ झिगौरामा ‘जलजला च्याउ प्रशोधन केन्द्र’ समेत स्थापना गरेकी छिन् । रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ, च्याउका विभिन्न परिकार बनाएर बिक्री गर्दा अझै फाइदा हुन्छ”, उनको भनाइ छ । बजारमा च्याउको माग बढ्दै गएको छ । 

उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । घरमा खानका लागि बनाइएको च्याउ कहिलेकाहीँ बिक्री गर्दा ग्राहक नियमितरुपमा सोध्न आउने गरेपछि व्यावसायिक खेती गर्न थालेको बुढाले बताइन् । “च्याउको अचार र सुकुटी बजारको माग अनुसार पुर्‍याउन सकेका छैनौँ”, बुढाको भनाइ छ । व्यवसायमा फाइदा देखेपछि बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लागेकी छिन् । 

घोराही–१४ की कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा क्रियाशील रहेकी छिन् । च्याउको बजार राम्रो देखेपछि उनी पनि च्याउ खेतीतर्फ आकर्षित भएकी हुन् । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री गरी रहेकी छिन् । “गत वर्ष चार सय किलो च्याउ बिक्री गर्‍यौ, च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ”, उनको भनाइ छ । अचार र सुकुटी खरिद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । देउजाले सामूहिकरुपमा रु सात लाखको लगानीमा उक्त व्यवसाय सुरु गरेकी हुन् । दाङमा उत्पादन भएको च्याउ रुकुम, रोल्पा, प्यूठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । 

कृषि ज्ञान केन्द्र दाङका शाखा अधिकृत भरतमणि पोख्रेलका अनुसार जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको छ । “च्याउको बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौ” पोखरेलको भनाइ छ । जिल्लामा रहेका स्थानीय तहले पनि च्याउ खेतीका लागि तालीम तथा बीउ निःशुल्क वितरण गरेका कारण कतै एकल त कतै सामूहिक च्याउ खेती भइरहेको पोख्रेलले बताए । जिल्लामा अधिकांश कृषकले दूधे च्याउ, गोब्रे र सीताकी च्याउ उत्पादन गर्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दाङका अधिकृत पोख्रेलले जानकारी दिए । घोराहीमा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दै आएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x