
अध्यक्ष गुरुङका अनुसार तरकारी लाइन, पराशर टोल, महर्षि टोल, निमचोक टोललगायतका ठाउँमा किटनाशक औषधि छर्किएको र अन्य ठाउँमा पनि किटनाशक औषधि छर्किने तयारी गरिएको छ । “बढी भीडभाड हुने स्थान छनोट गरेर किटनाशक औषधि छर्किन सुरु गरेका हौँ”, गुरुङको भनाइ छ ।
दमौली निवासी लक्ष्मीभक्त खनाल, सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेललगायतको संयुक्त लगानीमा किटनाशक औषधि खरिद गरी बजार क्षेत्रमा छर्किएको व्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले बताए । औषधि छर्किनका लागि युवाहरू प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ, सुदीप काफ्ले, लक्ष्मीभक्त खनाललगायत खटिएका थिए ।
सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने बताइएको छ । यसै गरी व्यास नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न घरभित्रै बस्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
२३ घरपरिवारलाई खाद्यान्न वितरण:
छिमेकी सहयोगी अभियानमार्फत तनहुँको व्यास नगरपालिका–१२ का २३ विपन्न परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको छ । अभियानमार्फत उक्त वडाका घर्ती, चेपाङ र तामाङ समुदायका २३ लगायत विपन्न परिवारलाई चामल वितरण गरिएको हो ।
व्यास युवा क्लब सञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सामाजिक युवा अभियन्ता लक्ष्मीभक्त खनालको संयुक्त पहलमा ती परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । आर्थिकरूपमा विपन्न रहेकाहरुलाई दमौली निवासी सुनिल घिमिरे र सुरेश घिमिरेबाट आठ बोरा चामल, श्याम मौरातीबाट पाँच बोरा चामल, सन्तोष गोदारबाट पाँच बोरा चामल र पोखरा निवासी अर्जुन केसीबाट पाँच बोरा चामल प्राप्त भएको थियो ।
दैनिक ज्यालादारी गरी छाक टार्ने र लकडाउनका कारण समस्यामा परेका उनीहरूलाई सहयोग गरिएको सामाजिक युवा अभियन्ता खनालले जानकारी दिए । “आपत्कालीन अवस्थामा सबै काम ठप्प हुँदा व्यास नगर क्षेत्रभित्र समस्यामा पर्नेहरुलाई खानाको जोहो गर्ने उद्देश्यस्वरुप सहयोग अभियान सुरु गरेका छौँ”, खनालले भने , “दानवीरले गरेको सहयोग आपत्मा परेकालाई उपलब्ध गराउन हामी माध्यम बनेका हौँ ।”
चामल पाउनेमा व्यास नगरपालिका–१२ नन्दीमाया घर्ती, भीमबहादुर घर्ती, पूर्णबहादुर घर्ती, गोरे घर्ती, पुन्टे कामी, हर्क तामाङ, ललित तामाङ, सोमबहादुर तामाङ, मिलन तामाङ, नवे घर्ती, विकास घर्ती, मनिषा सुनार, रुन्ची घर्ती, अजित तामाङ, घले बुढा, कल्पना परियार, विमला परियार, मीरा परियार, मधु परियार, श्रीमाया गुरूङ, कान्छी गुरूङ, कुमार गुरूङ र पप्पु तामाङ रहेका छन् ।रासस