कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा

ज्ञानमाण्डू।कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उनका परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि कुन माध्यमबाट कसरी उनमा सङ्क्रमण भयो भन्नेमा परिवारका सदस्यहरू अलमलमा परेका हुन् । 

“त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उहाँलाई लगेर जाँदा रोग कसरी सर्‍यो होला भनेर अलमलमा पर्‍यौँ”, सङ्क्रमित महिलाकी जेठानीले भनिन्, “विदेशवाट आइपुगेका देवर (सङ्क्रमित युवक)लाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरू समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”

कोरोना सङ्क्रमित युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । सङ्क्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको सङ्क्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ । 

सङ्क्रमित युवक उनकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । सङ्क्रमितको उपचारमा संलग्न अस्पतालका फिजिसियन डा शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको सङ्क्रमण नहुन पनि सक्ने बताए । “सङ्क्रमित युवकलाई सङ्क्रमित महिलाले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भाइरसको सङ्क्रमण भएको हुनसक्छ”, डा कमरको भनाइ छ । 

सङ्क्रमित चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालले विगतदेखि दश प्रतिशत बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले सङ्क्रमितलाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । “आवश्यक पर्दा पिपिइ, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उहाँहरूको स्वास्थ्य जाँच गरिरहेका छौँ”, डा कमरले भने, “चारै जनाको स्वास्थ्य अवस्था समान्य छ ।” 

सङ्क्रमित व्यक्तिबाट स्थानीयवासीमा सङ्क्रमण भएको यो घटनापछि सरकारको निर्णयअनुसार यति बेला सङ्क्रमित फेला परेको ठाउँ र आवश्यक अन्य ठाउँमा पनि र्यापिड टेष्ट गर्न थालिएको छ । काठमाडौँबाट खटिआएको टोलीले तीन दिनदेखि आवश्यक देखिएका र्यापिड टेस्ट गर्ने काम अघि बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । र्यापिड डाइग्नोटिस्क टेस्ट(आरडिटी)का लागि काठमाडौँबाट खटिएको छ सदस्यीय टोली सोमबार धनगढी पुगेको थियो । 

लकडाउन सुरु हुनुअघि र पछि भारतबाट झन्डै एक लाख ४० हजारको सङ्ख्यामा नेपाली यो प्रदेशमा फर्किएको अनुमान छ तर अधिकांश व्यक्ति अझै पनि क्वारेन्टाइनमा नबसेको अवस्था रहँदा रोगको थप जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासी त्रसित छन् । 

क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलको तथ्याङ्कमा प्रदेशका विभिन्न ३९ ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा हाल दुई हजार ३६१ जना बसेको उल्लेख छ । यद्यपि फर्किनेमध्ये अधिकांश आफ्नै होम क्वारेन्टाइनमा बसेको र उनीहरूको निगरानी गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहको भनाइ छ । 

कैलालीको गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज विष्टले होम क्वारेन्टाइनमा बसेका झन्डै १५० व्यक्तिको घरपरिवारलाई निरन्तर निगरानी गरिएको बताए । लकडाउन सुरु भएपछि यी व्यक्ति गौरीफन्टा नाका हुँदै स्वदेश फर्किएका थिए । फर्किएकाहरूको निगरानी गरी शङ्कास्पद बिरामीको खोजपड्ताल गर्ने काम प्रभावकारी बनाउन नसकिए रोगको सङ्क्रमण दर निकै बढ्न सक्ने कतिपयको भनाइ छ । 

निर्देशनालयको तथ्याङ्कमा हाल प्रदेशका विभिन्न अस्पतालमा गरी १० जना शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेकोमा शङ्कास्पद ४६ जना उपचारपछि घर फर्किएको उल्लेख छ । 

यता कोभिड–१९ का बिरामीको उपचार गर्ने सेती प्रादेशिक अस्पताल धनगढीमा मङ्गलवारसम्म शङ्कास्पद ६५ जनाको प्रयोगशाला परीक्षण गरिएको छ । तीमध्ये चार जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ । पचासको नतिजा नेगेटिभ आएको छ । एघारको नतिजा आउन बाँकी छ । पाँच शङ्कास्पद बिरामीको सो अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । 

उपभोग्य सामग्री पाउन सकस: 

कोरोनाको रोकथामको प्रयासस्वरूप जारी गरिएको लकडाउनको समय लम्बिँदै जाँदा स्थानीय उपभोक्तालाई साग, तरकारी, दूध, फलफूल, चामल, पिठोलगायतका दैनिक उपभोग्य सामग्री पाउन सकस भएको छ । खास गरी ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका उपभोक्ता उपभोग्य सामग्री नपाउँदा मारमा परेका हुन् । 

यस क्षेत्रमा गएको शनिवार एकै दिन तीनसहित चार जना कोरोनाका सङ्क्रमित फेलापरेसँगै जारी लकडाउनलाई थप कडाइ गरिएको छ । लकडाउनमा गरिएको कडाइले प्रदेशका धनगढी, भीमदत्तनगर, अत्तरिया, लम्की, टीकापुर जस्ता ठुला सहर सुनसान बनेका मात्र छैनन्, नयाँ खालको सन्नाटा पनि छाएको छ । 

स्थानीय बजारको एक भित्री सडकमा लुकिछिपी हिँड्दै गरेको भेटिनुभएका स्थानीयवासी सागर रानाले भने, ‘घरमा “सबै खाद्यवस्तु सकियो, बजार जाँदा प्रहरीले हैरान पार्छ के खाएर बस्ने होला ।” दैनिक उपभोग्य वस्तु पाउन असहज भए पनि जारी लकडाउनलाई सर्वसाधारणले साथ दिइरहेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x