ग्लोबल आइएमई बैङ्क : विगत देखि वर्तमान सम्म

global ime bank

 

७७ वटै जिल्लामा शाखा विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्क २०६३ साल ज्येष्ठ १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हाे । “सबैका लागि बैङ्क” भन्ने नाराका साथ सुरु भएको तत्कालिन ग्लोबल बैङ्क हाल निजी क्षेत्रकै सबै भन्दा ठुलो बैङ्क बन्न सफल भएको छ । वैदेशिक प्रतिनिधि कार्यालय भएको नेपालकाे एक मात्र वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्कको कारोबारकाे सुरुवात भने वीरगन्जबाट भएको थियो ।
 
वि.स.२०६९ सम्ममा ग्लोबल बैङ्ककाे नामबाट कारोबार गर्दै आएको सो बैङ्कले २०६९ सालमा साबिकको आइएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभे पश्चात् ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट कारोबार गर्दै आएकाे हो ।
 
५१ करोड शेयर पुँजी सहित काराेबार सुरु गरेको ग्लोबल बैङ्कले हाल सम्म १८ वटा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूसँग मर्ज र प्राप्ति गर्दै हाल २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी सहित काराेबार गरिरहेकाे छ। हाल ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू मर्जर प्रक्रियामा रहेका छन् र मर्जर पश्चात् नयाँ बन्ने बैङ्कको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ हुने र चुक्ता पुँजीको आधारमा नेपालकै ठुलो बैङ्क बन्ने देखिन्छ । गत असार २ गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता अनुसार ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू एक बराबर एक शेयर अनुपातमा मर्ज हुन लागेका हुन् ।
 
पहिलो पटक वीरगन्जबाट कारोबार सुरु गरेको यस बैङ्कले छोटो समयमा नै काठमाण्डौंको कान्तिपथमा कर्पोरेट अफिस र मुख्य शाखा कार्यालय सञ्चालन गर्नुका साथै बाग्लुङ्ग नगरपालिकामा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको थियो । स्थापनाको वर्षमा ३ जिल्लामा ३ शाखा कार्यालयबाट कारोबार प्रारम्भ गरेको ग्लोबल आइएमई बैङ्कले हाल ७७ जिल्लामा २८९ शाखा, २६५ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ । हाल बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ । सञ्चालनको पहिलो वर्ष ६८ जना कर्मचारीबाट सुरु भएको यस बैङ्कमा हाल करिब ३ हजार कर्मचारीहरू कार्यरत छन् ।

 

बैङ्कको प्रथम वार्षिक साधारण सभा हुने बेलासम्मका लागि चन्द्रप्रसाद ढकाल, जगदीश घिमिरे, राजेश उपाध्याय, देवी प्रकाश भट्टचन, आत्मकृष्ण श्रेष्ठ र गणेश प्रसाद अधिकारी सञ्चालक नियुक्त हुनुभएकोमा देवी प्रकाश भट्टचन, जगदीश घिमिरे र गणेश प्रसाद अधिकारीले विभिन्न मितिमा सो पदबाट राजीनामा दिए पछि प्रथम साधारण सभा सम्मको लागि सो पदहरूमा क्रमशः धन बहादुर शेरचन, सुहृदराज घिमिरे र सन्दीप अग्रवाल नियुक्त हुनुभएको थियाे । त्यस्तै जीवनमान जोशी व्यावसायिक विशेषज्ञ सञ्चालकका रूपमा नियुक्त भई साधारण सभा हुनु पूर्व बैङ्कमा ७ सदस्यीय सञ्चालक समिति रहेको थियो ।

 

 

बैङ्कको पहिलो प्रमुख कार्यकारीमा सुमन न्यौपाने रहनुभएको थियो भने पहिलो वर्ष देखि बैङ्कको उच्च व्यवस्थापनमा निम्न बैंकरहरूले आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो।
  • गोविन्द गुरुङ, प्रमुख-बिजनेस बैङ्क
  • प्रविन राज पोखरेल, प्रमुख सञ्चालन तथा रिटेल
  • नेपाल भुषण गौली, प्रमुख- सूचना प्रविधि तथा प्रोडक्ट
  • भानु कँडेल, प्रमुख- वित्त, योजना तथा मानव संसाधन
  • भवानी ढकाल, कम्पनी सचिव तथा प्रमुख - कानुन तथा सामान्य सेवा
  • नविन्द्र श्रेष्ठ, प्रमुख- जोखिम व्यवस्थापन तथा अनु पालन
  • शान्ता सिवाकोटी, प्रमुख- ट्रेजरी तथा करेस्पोण्डेण्ट बैंकिङ्ग
  • अनिन्द्र आचार्य, प्रमुख-आन्तरिक लेखा परीक्षण
  • आरती राणा, प्रबन्धक- मार्केटिङ,
  • अमित श्रेष्ठ, प्रबन्धक-कर्पोरेट
  • प्रज्ञा पाण्डे, प्रबन्धक-कर्पोरेट
  • सुशिल श्रेष्ठ, प्रबन्धक-सेन्ट्रल अपरेशन
  • सुरेश महर्जन, प्रबन्धक–कार्ड बिजनेस
  • सुमन पोखरेल, वरिष्ठ अधिकृत–रेमिटेन्स

शाखा प्रमुख :

  • रविना आर्चाय, शाखा प्रबन्धक-कान्तिपथ
  • यादव शर्मा, शाखा प्रबन्धक-बागलुङ
  • अनुप घिमिरे, शाखा प्रबन्धक-वीरगन्ज
पहिलो वर्ष ५१ करोड शेयर पुँजीका साथ सञ्चालन भएको बैङ्कमा शून्य दशमलव ५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका १६ लगानीकर्ताहरू थिए जस मध्ये आई.एम.ई ईन्भेष्टमेन्ट प्रा. लि. को सर्वाधिक ७ करोड ५५ लाख ३४ हजार रुपैयाँ अर्थात् १४ दशमलव ८१ प्रतिशत शेयर स्वामित्व थियो। त्यस्तै वल्ड वाइड ईन्भेष्टमेन्ट प्रा. लि. को १३ दशमलव ०९ प्रतिशत, उषा ईन्भेष्टमेन्ट प्रा. लि. को १२ दशमलव ८८ प्रतिशत र कन्टिनेन्टल ईन्भेष्टमेन्ट प्रा. लि. को ११ दशमलव ९० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।
 
शून्य दशमलव ५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति/समूह/फर्म/कम्पनीको विवरण :

 

 
वि.स. २०६४ साल माघ २९ गते मङ्गलवार होटेल विश्वा, वीरगन्ज, पर्सामा ग्लोबल बैङ्कले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । पहिलो वर्षमै कम्पनीले ३ अर्ब २ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । स्थापनाको छोटो समयमै बैङ्कले निकै उत्साहजनक व्यापार गर्न सफल भएको थियो ।
 
२०६४ साल आषाढ मसान्तको वासलात
शेयर पुँजी : ५१ करोड रुपैयाँ
जगेडा तथा कोषहरू : ४ करोड ५ लाख रुपैयाँले ऋणात्मक
निक्षेप : ३ अर्ब २ करोड रुपैयाँ
कर्जा सापट तथा विल खरिद : २ अर्ब ५६ करोड रुपैयाँ
 
मिति २०६३ पुष १८ गते देखि २०६४ आषाढ ३२ गतेसम्मको नाफा नोक्सान हिसाब
खुद व्याज आम्दानी : २ करोड ४७ लाख रुपैयाँ
सञ्चालन मुनाफा : ४ करोड ५ लाख रुपैयाँले ऋणात्मक
खुद नाफा /नोक्सान : ४ करोड ५ लाख रुपैयाँले ऋणात्मक
 
हाल बैङ्क अफ काठमाण्डू सँग मर्जर प्रक्रियामा रहेको याे बैङ्क विगतमा १८ संस्थाहरू मिलेर बनेको संस्था हो (मर्जर तथा प्राप्ति भई आएका संस्थाहरूमा समाहित भएका समेत) । मिति २०६३ सालमा ‘क’ वर्गको इजाजत प्राप्त गरी सञ्चालनमा आएको तत्कालिन ग्लोबल बैङ्क लिमिटेडले मिति २०६९ सालमा साबिकको आइएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभे पश्चात् ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो । तत्पश्चात् आ.व. २०६९/७० मा सोसियल डेभलपमेण्ट बैङ्क र गुल्मी विकास बैङ्क (नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्कहरू) यसमा गाभिए । आ.व. २०७०/७१ मा ग्लोबल आइएमई बैङ्क र कमर्ज एण्ड ट्रष्ट बैङ्क नेपाल लिमिटेड (नेपाल राष्ट्र बैङ्क बाट “क” वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क) मर्ज भइ दुई वाणिज्य बैङ्कहरूको ऐतिहासिक मर्जरकाे सुरूवात भएकाे थियाे । आ.व. २०७३/७४ को अन्त्यमा याे बैङ्कले पुन २ वटा विकास बैंक प्यासिफिक डेभलपमेण्ट बैङ्क र रिलायबल डेभलपमेण्ट बैङ्क(नेपाल राष्ट्र बैङ्कबाट “ख” वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्कहरू) लाई गाभ्यो । त्यस्तै आ.व. २०७६/७७ को सुरुमा हाथवे फाइनान्स लिमिटेड (नेपाल राष्ट्र बैङ्कबाट “ग” वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था) र तत्पश्चात् तत्कालिन जनता बैङ्क नेपाल लिमिटेड (नेपाल राष्ट्र बैङ्क बाट “क” वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क) लाई मर्ज गरी विभिन्न वित्तीय सूचकाङ्कहरूमा अब्बलता कायम गर्दै हाल देशकै एक अग्रणी वाणिज्य बैङ्कको रूपमा सञ्चालन भई रहेको छ ।
 
ग्लोबल आइएमई बैङ्क यसमा मर्जर तथा प्राप्ति भई आएका संस्थाहरूमा समाहित भएका समेत गरी १८ वटा बैङ्क तथा वित्तीय संस्थाहरूबाट बनेको वाणिज्य बैङ्क हो। तत्कालिन आइ.एम.ई फाइनान्सीयल इष्टिच्यूशन लि. र ग्लोबल बैङ्क एक आपसमा मर्ज/प्राप्ति हुँदा यसको नाम ग्लोबल आइएमई बैङ्क लि. रहने गरी परिवर्तन भएको हो।
  • ग्लोबल बैंक लि.
  • आइ.एम.ई फाइनान्सियल इष्टिच्यूशन लि.
  • लर्ड वुद्ध फाइनान्स लि
  • सोसियल डेभलपमेन्ट बैंक लि.
  • गुल्मी विकास बैक लि.
  • कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लि.
  • प्यासिफिक डेभलपमेन्ट बैंक लि
  • रिलायवल डेभलपमेन्ट बैंक लि.
    • कन्जुमर डेभलपमेन्ट बैंक लि.
    • शुभलक्ष्मी विकास बैंक लि.
  • हाथवे फाइनान्स कम्पनी लि
  • जनता बैंक नेपाल लि.
    • त्रिवेणी विकास बैंक लि.
      • ब्राईट डेभलपमेन्ट बैंक लि.
      • पब्लीक डेभलपमेन्ट बैंक लि.
    • सिदार्थ डेभलपमेन्ट बैंक लि.
      • एकता विकास बैंक लि.
      •  नेपाल आवास फाइनान्स लि.
 
आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्मको वासलात
शेयर पुँजी : २३ अर्ब ७९ करोड रुपैयाँ
जगेडा तथा कोषहरू : १३ अर्ब ३४ करोड रुपैयाँ
निक्षेप : २ खर्ब ७७ अर्ब रुपैयाँ
कर्जा लगानी : २ खर्ब ५८ अर्ब रुपैयाँ

आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्मको नाफा नोक्सान हिसाब
खुद व्याज आम्दानी : १० अर्ब ७४ करोड रुपैयाँ
सञ्चालन मुनाफा : ७ अर्ब ५६ करोड रुपैयाँ
खुद नाफा /नोक्सान : ५ अर्ब २० करोड रुपैयाँ

 
बैङ्कको अहिलेको सञ्चालक समिति र व्यवस्थापन समूह :

हाल ग्लोबल आइएमई बैङ्कको सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल हुनुहुन्छ भने अन्य सञ्चालकमा सुदर्शन कृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी हुनुहुन्छ।

 

 
त्यस्तै यस बैङ्कको व्यवस्थापन समूहमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, सिनियर नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी, नायब महाप्रबन्धक कल्याण विक्रम पाण्डे, सहायक महाप्रबन्धकहरू भवानी ढकाल, बुद्धि अकेला, अनिल जोशी, राजा अर्याल र दिप चन्द्र रेग्मी तथा वरिष्ठ प्रबन्धक शान्ता सिवाकोटी हुनुहुन्छ ।
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x