चालु आ.व.को पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९% ले बढ्यो , के के हुन् नेपालबाट निर्यात हुने प्रमुख वस्तु ?

ज्ञानमाण्डू।आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भई रु.२० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुटबाट उत्पादन गरिएका सामग्रीहरू, जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात घटेको छ ।

नेपालले स्वदेशबाट निर्यात गर्ने प्रमुख पाँच वस्तुहरू सोयाविन तेल, पाम तेल, ऊनी गलैँचा, पोलिष्टर धागो र जुटबाट उत्पादन गरिएका सामग्रीहरू रहेका छन् । गत आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्कको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा यी वस्तुहरू प्राय सबैको निर्यातमा सामान्य सुधार आएको देख्न सकिन्छ । यता, सोयाविन तेलको निर्यातमा भने सर्वाधिक वृद्धि भएको छ ।

समीक्षा अवधिमा नेपालले निर्यात गर्ने प्रमुख वस्तु सोयाविन तेल रहेको छ। नेपालले चालु आर्थिक वर्षको श्रावण महिनामा ८ अर्ब ९८ करोड बराबरको सोयाविन तेल निर्यात गरेको छ । सोयाविन तेलले नेपालको कुल वस्तु निर्यातको ४३.३ प्रतिशत अंश ओगटेको छ, जुन कुनै पनि निर्यात हुने वस्तु मध्येको सर्वाधिक हो । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २ अर्ब २७ करोड बराबरको सोयाविन तेल निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७ करोड १५ लाख रुपैयाँ अर्थात् २९५ दशमलव ८ प्रतिशतको वृद्धि हो।

पाम तेल नेपालले निर्यात गर्ने दोस्रो प्रमुख वस्तु हो। नेपालले चालु आर्थिक वर्षको श्रावण महिनामा २ अर्ब १५ करोड बराबरको पाम तेल निर्यात गरेको छ । पाम तेलले नेपालको कुल वस्तु निर्यातको १०.४ प्रतिशत अंश ओगटेको छ।

नेपालबाट निर्यात हुने अर्को प्रमुख वस्तु, पोलिष्टर धागो यस आर्थिक वर्षको पहिलो महिनामा ८८ करोड बराबरको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ५१ करोड बराबरको पोलिस्टर धागो निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ करोड रुपैयाँ अर्थात् ७२ दशमलव ६ प्रतिशतको वृद्धि हो। पोलिष्टर धागोको निर्यातले नेपालको कुल वस्तु निर्यातको ४.३ प्रतिशत अंश ओगटेको छ।

नेपालबाट निर्यात हुने प्रमुख पाँच वस्तु मध्ये रहेको नेपालमा निर्मित ऊनी गलैँचाको लोकप्रियता विदेशी मुलुकहरूमा निकै रहेको देखिन्छ। ऊनी गलैँचाको निर्यातले नेपालको कुल वस्तु निर्यातको ३.९ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको श्रावण महिनामा ८० करोड बराबरको ऊनी गलैँचा निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ६८ करोड ३० लाख बराबरको ऊनी गलैँचा निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड  ७१ लाख रुपैयाँ अर्थात् १७ दशमलव १ प्रतिशतको वृद्धि हो।

विश्व बजारमा निकै लोकप्रिय रहेका जुटबाट उत्पादन गरिएका सामग्रीहरू, नेपालले यस आर्थिक वर्षको पहिलो महिनामा ७४ करोड ८६ लाख बराबरको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ४७ करोड रुपैयाँ बराबरको सामग्रीहरूको निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ करोड ८६ लाख रुपैयाँ अर्थात् ५९ दशमलव ३ प्रतिशतको वृद्धि हो। जुटबाट उत्पादन गरिएका सामग्रीहरूको निर्यातले नेपालको कुल वस्तु निर्यातको ३.६ प्रतिशत अंश ओगटेको छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x