चालु आ.व.को पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले बढ्यो , के हुन् नेपालमा आयात हुने प्रमुख वस्तु ?


ज्ञानमाण्डू।आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु.१५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ भने रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ ।

नेपालले विदेशी मुलुकबाट आयात गर्ने प्रमुख पाँच वस्तुहरू पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा र एम.एस. बिलेट रहेका छन् । गत आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्कको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा यी वस्तुहरू प्राय सबैको आयात वृद्धि आएको देख्न सकिन्छ ।

केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक अनुसार नेपालले आयात गर्ने प्रमुख वस्तु पेट्रोलियम पदार्थ रहेको छ। नेपालले चालु आर्थिक वर्षको पहिलो अर्थात् श्रावण महिनामा १६ अर्ब २१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा नेपालले ६ अर्ब ९८ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब २२ करोड रुपैयाँ अर्थात १३२ दशमलव २ प्रतिशतको वृद्धि हो। १३२ दशमलव २ प्रतिशतको वृद्धि आएको पेट्रोलियम पदार्थ आयातले नेपालको कुल वस्तु आयातको १०.८ प्रतिशत अंश ओगटेको छ।

समीक्षा अवधिमा नेपालले आयात गर्ने दोस्रो प्रमुख वस्तु यातायातका साधन तथा पार्टपुर्जा रहेका छन् । नेपालले चालु आर्थिक वर्षको श्रावण महिनामा ११ अर्ब ८१ करोड बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको छ । यातायातका साधन तथा पार्टपुर्जाले नेपालको कुल वस्तु आयातको ७.८ प्रतिशत अंश ओगटेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ५ अर्ब ५४ करोड बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २७ करोड रुपैयाँ अर्थात् ११३ दशमलव १ प्रतिशतको वृद्धि हो।

नेपालमा आयात हुने अर्को प्रमुख वस्तु, कच्चा सोयाविन तेल, यस आर्थिक वर्षको पहिलो महिनामा ८ अर्ब ३२ करोड बराबरको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २ अर्ब ५६ करोड बराबरको कच्चा सोयाविन तेल आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ७६ करोड रुपैयाँ अर्थात् २२५ दशमलव १ प्रतिशतको वृद्धि हो। कच्चा सोयाविन तेलको आयातले नेपालको कुल वस्तु आयातको ५.५ प्रतिशत अंश ओगटेको छ।

अन्य मेसिनरी तथा पार्टपुर्जाको आयातले नेपालको कुल वस्तु आयातको ४.५ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको श्रावण महिनामा ६ अर्ब ७८ करोड बराबरको अन्य मेसिनरी तथा पार्टपुर्जाको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले ४ अर्ब १० करोड बराबरको मेसिनरी तथा पार्टपुर्जा आयात गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ६५ प्रतिशतले बढेको देखिन्छ।

नेपालले यस आर्थिक वर्षको पहिलो महिनामा ६ अर्ब ४५ करोड बराबरको एम.एस. बिलेट आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म नेपालले २ अर्ब ३० करोड रुपैयाँ बराबरको एम.एस. बिलेट आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब १५ करोड रुपैयाँ अर्थात् १८० दशमलव २ प्रतिशतको वृद्धि हो। जुटबाट उत्पादन गरिएका सामग्रीहरूको निर्यातले नेपालको कुल वस्तु आयातको ४.३ प्रतिशत अंश ओगटेको छ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई रु.१२९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात  रु.२० अर्ब ७६ करोड पुगेको छ। यता चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक अनुसार नेपालले आयात गर्ने प्रमुख वस्तु पेट्रोलियम पदार्थ १६ अर्ब २१ करोड रुपैयाँ बराबरको र ११ अर्ब ८१ करोड बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको देखिन्छ। सो तथ्यांकले नेपालले चालु आर्थिक वर्षको पहिलो महिनामा गरेको कुल निर्यातको रकमले नेपाललाई एक महिनाका लागि आवश्यक पर्ने पेट्रोलियम पदार्थ र यातायातका साधन तथा पार्टपुर्जा आयात गर्न नेपाल असक्षम रहेको देखाउँदछ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x