राज्य–निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरू सञ्चालन गरौँ, वरिष्ठ उपाध्यक्ष ढकाल

chandra dhakal

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र बिच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्न सकिने बताउनुभएको छ ।

शनिवार गोरखा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बिचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरू सञ्चालन गर्न सकिने बताउनुभयो ।

“यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ । यस्ता उद्योगहरू धेरै बन्द अवस्थामा छन् । निजी क्षेत्र र सरकार बिच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरूमा लगानी गरी तिनीहरूलाई पुनः सञ्चालन गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । ढकालले सरकारी ढुकुटीमा खरबौँ राजश्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताउनुभएको छ ।

“अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजश्व सङ्कलन भइसकेको छ । यो पौष मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजश्व सङ्कलन हुनेछ । तर राजश्व सङ्कलन केन्द्रीकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम् नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,” उहाँले भन्नुभयो ।

गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन भएको बताउँदै उहाँले यसमा निजी क्षेत्रको योगदान ठुलो रहेको बताउनुभयो ।

ढकालले सबै व्यवसायीहरूले नाफा मात्र नहेरेको बताउँदै उनीहरूले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको राजश्वमा ठुलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममा समेत नसमेटिएकोमा गुनासो गर्नुभयो ।

“मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको छ । सरकारी राजश्व सङ्कलनमा पनि निजी क्षेत्रले सहयोग गरेको छ । त्यसैले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्दा सरकारलाई पनि सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।

बजार अनुगमनका नाममा व्यवसायीहरूले दुख पाएको र त्यसलाई मर्यादित बनाउनुपर्ने उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय स्तरमा लगानीका सम्भावनाहरू भएमा महासङ्घको तर्फबाट तथा व्यक्तिगत साझेदारी गर्न आफू तयार रहेको बताउनुभयो ।

“तपाई हामीबिच व्यावसायिक सम्बन्ध भयो भने हामी पोस्टमा हुँदा र नहुँदा पनि सम्बन्ध रहने हुन्छ । यहाँका स्थानीय सम्भावनाहरू के के छन् । उत्पादनमूलक उद्योग, पर्यटन वा अन्य कुनै पनि व्यवसायमा जोडिन सकियो भने यो सम्बन्ध रहिरहन्छ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x