ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा नेपालका २७ वाणिज्य बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा २८ अर्ब अधिक रुपैयाँ खर्च गरेका छन् । समीक्षा अवधिमा नेपालका वाणिज्य बैङ्कहरूले औसतमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.०९ प्रतिशत खर्च वृद्धि गर्दै जम्मा २८ अर्ब २२ करोड रुपैयाँ आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको यस्तो खर्च २३ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।
पुष मसान्तसम्म २८ अर्ब अधिक रुपैयाँ खर्च गरेका २७ वाणिज्य बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधाका निम्ति औसतमा १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको देखिएको छ । यस अवधिमा ११ वटा बैङ्कले औसत भन्दा बढी खर्च गरेका छन् भने १६ यस्ता बैङ्कको खर्च औसत भन्दा कम रहेको देखिएको छ ।
वाणिज्य बैङ्कहरू मध्ये एनआईसी एशिया बैङ्कले पुष मसान्तसम्ममा सर्वाधिक १ अर्ब ८६ करोड रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ भने सोही शीर्षकमा गरिएको खर्चका आधारमा कर्मचारीहरूको ठुलो सङ्ख्या रहेको ग्लोबल आइएमई बैङ्कले १ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको देखिन्छ।
त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेको छ भने वाणिज्य बैङ्कहरू मध्येको लिडर बैङ्क मानिने नबिल बैङ्कले १ अर्ब ५१ करोड रुपैयाँ खर्च गर्दा कृषि विकास बैङ्कले १ अर्ब ५० करोड रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको तथ्याङ्कले देखाएको छ।
त्यसै गरी प्रभु बैङ्कले १ अर्ब ४६ करोड रुपैयाँ, सिद्धार्थ बैङ्कले १ अर्ब ३५ करोड रुपैयाँ, नेपाल बैङ्कले १ अर्ब २९ करोड रुपैयाँ, एनएमबी बैङ्कले १ अर्ब २९ करोड रुपैयाँ, कुमारी बैङ्कले १ अर्ब २७ करोड रुपैयाँ र मेगा बैङ्कले १ अर्ब ५ करोड रुपैयाँ खर्च गरी अर्ब भन्दा अधिक रकम आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा खर्च गर्ने वाणिज्य बैङ्कहरू भएका छन् ।
यता, चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा २७ वाणिज्य बैङ्कहरू मध्ये कर्मचारीको तलब, भत्ता र सुविधा शीर्षकमा सर्वाधिक कम खर्च गर्ने वाणिज्य बैङ्क सेञ्चुरी कमर्सियल बैङ्क रहेको छ। उक्त बैङ्कले समीक्षा अवधिमा ५८ करोड ३२ लाख रुपैयाँ रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको छ।
अस्वीकरण (डिस्क्लेमर): सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।