सिटिजन्स बैङ्कले बोलायो २०औँ वार्षिक साधारण सभा, ४ प्रतिशत लाभांश प्रस्ताव


सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैङ्कको सञ्चालक समितिको बैठकले आगामी असोज २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको डिल्लीबजारस्थित अमृत भोगमा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ का लागि शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश रहेको छ।

सभाले बोनस सेयर वितरणपछि बैङ्कको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि प्रबन्ध पत्रमा संशोधन गर्नुपर्ने भएमा नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक थपघट तथा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव रहेको छ। बैङ्कका सहायक कम्पनीहरूको सोही आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट पारित गरिनेछ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैङ्कले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज १८ गतेसम्म कायम रहेका शेयर धनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x