
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको सङ्ख्या घटाउने उद्देश्यले ग्राहकमैत्री नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्थाअनुसार अब ग्राहकले सम्बन्धित बैङ्कको शाखामा पुग्नै पर्ने बाध्यता बिना मोबाइल, वेब एप वा इमेलमार्फत पनि आफ्नो बैङ्क खाता बन्द गर्न सक्नेछन्।
केन्द्रीय बैङ्कले सबै बैङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापनसम्बन्धी कार्य योजना तयार गरी आगामी पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।
निर्देशनअनुसार कुनै खाता निष्क्रिय हुनुअघि बैङ्कले ग्राहकलाई फोन, एसएमएस, इमेललगायत विभिन्न माध्यमबाट नियमित रूपमा जानकारी गराउनुपर्नेछ। यस्तै, निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा एक पटक ग्राहकसँग सम्पर्क गरी अनुरोध गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैङ्कले ग्राहकलाई नेपालभर रहेका सम्बन्धित बैङ्कका जुनसुकै शाखा कार्यालय वा मोबाइल तथा वेब एपमार्फत सहज रूपमा खाता बन्द गर्न सक्ने सुविधा उपलब्ध गराउन पनि निर्देशन दिएको छ। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको मौज्दात रकम उनले तोकेको अर्को बैङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरिदिनुपर्ने व्यवस्था पनि गरिएको छ।
यसै गरी, ग्राहकको पहिचान सुनिश्चित गरी बैङ्कका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ। साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक वा शङ्कास्पद कारोबारको निगरानी गर्न सक्षम प्रणाली विकास गर्न पनि राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
