
बैङ्क तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानी निरन्तर विस्तार हुँदै करिब १८ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.९९ प्रतिशतले बढी हो।
उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर ४ सय ६१ वटा नयाँ उद्योग दर्ता भएका छन्। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै ३६३ उद्योग दर्ता भएका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४ उद्योग मात्र थपिएका छन्।
यस अवधिमा दर्ता भएका उद्योगहरूमा ५५ अर्ब ८३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव भएको छ। ती उद्योग मार्फत २२ हजार ८ सय ८५ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
यद्यपि उद्योगहरूको उत्पादन क्षमता उपयोग भने अपेक्षा अनुसार बढ्न सकेको छैन। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग दर ४२.११ प्रतिशतमा सीमित रहेको तथ्याङ्कले देखाएको छ।
प्रदेशगत रूपमा औद्योगिक कर्जाको वितरणमा ठुलो असन्तुलन देखिएको छ। कुल औद्योगिक कर्जामध्ये बागमती प्रदेशले मात्रै १२ खर्ब ८४ अर्ब ३० करोड रुपैयाँ अर्थात् ७२.२२ प्रतिशत हिस्सा ओगटेको छ। यसको विपरीत कर्णाली प्रदेशमा केवल ४ अर्ब ४१ करोड रुपैयाँ अर्थात् ०.२५ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ।
अन्य प्रदेशहरूमा कोसी प्रदेशले ९.२२ प्रतिशत, लुम्बिनी प्रदेशले ७.९१ प्रतिशत, मधेस प्रदेशले ७.२२ प्रतिशत, गण्डकी प्रदेशले १.६२ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशले १.५५ प्रतिशत औद्योगिक कर्जा हिस्सा प्राप्त गरेका छन्।
औद्योगिक क्षेत्रमा बैङ्कहरूको लगानी १८ खर्ब नजिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
