नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ७० अर्ब तरलता तान्दै


नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न लागेको जनाएको हो।

राष्ट्र बैङ्कको अनुसार यसका लागि शुक्रवार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोल ब्याजदरका आधारमा हुनेछ। बैङ्क तथा वित्तीय संस्थाले बहु ब्याजदरमा समेत एकभन्दा बढी प्रस्ताव पेस गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैङ्कका अनुसार ७७ दिन अवधिको उक्त निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ५ गते गरिनेछ। बैङ्किङ प्रणालीमा तरलता अधिक भएपछि राष्ट्र बैङ्कले पछिल्ला दिनहरूमा नियमित रूपमा निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x