अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कद्वारा २० अर्बको एक वर्षे ऋणपत्र निष्कासन


बैङ्किङ प्रणालीमा तरलता अत्यधिक बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैङ्क ऋणपत्र निष्कासन गरेको छ। केन्द्रीय बैङ्कले एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत जारी गरेको हो।

राष्ट्र बैङ्कका अनुसार निष्कासित ऋणपत्रको नाम “नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८३ ‘ङ’” राखिएको छ। ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा निर्धारण हुने छ भने यसको साँवा भुक्तानी २०८३ पुस २३ गते गरिनेछ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।

ऋणपत्रको बोलकबोलमा एकल तथा बहु ब्याजदर दुवै माध्यम प्रयोग गर्न सकिनेछ। यस प्रक्रियामा वाणिज्य बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले सहभागिता जनाउन पाउनेछन्।

राष्ट्र बैङ्कले प्राप्त बोलकबोल प्रस्तावहरूलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रम अनुसार मिलाई आह्वान गरिएको रकम वा समितिले तोकेको सीमाभित्र स्वीकार गर्ने जनाएको छ। यसरी कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा मान्दै सो दर वा सोभन्दा कम ब्याजदरमा प्रस्ताव गर्ने संस्थाहरूलाई ऋणपत्र बाँडफाँट गरिनेछ।

यसअघि पनि केन्द्रीय बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न पुस २० गते २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे नेपाल राष्ट्र बैङ्क ऋणपत्र निष्कासन गरिसकेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x