सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ।
कम्पनीले प्रतिशेयर रु. १०० अङ्कित दरका कुल ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको छ जसमा कुल रकम ८५ करोड ५० लाख रुपैयाँ रहेको छ। उक्त शेयर कम्पनीको जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत हो।
कम्पनीको अनुसार निष्कासन गरिने कुल शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि २८ लाख ५० हजार कित्ता शेयर छुट्टाइएको छ। यसमा अति प्रभावित क्षेत्रका बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दाहरूका लागि १८ लाख ५२ हजार ५०० कित्ता शेयर र बाँकी रहने वडा नं. ३, ५, ६, ७, ८, ९, १० र ११ का बासिन्दाहरूका लागि ९ लाख ९७ हजार ५०० कित्ता शेयर वितरण गर्ने कम्पनीले जनाएको छ।
त्यसै गरी, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल शेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता शेयर छुट्टाइएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आवेदन (छिटोमा) चैत २२ गते र (ढिलोमा) वैशाख ७, २०८३ सम्म दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन (छिटोमा) चैत ११ गते र (ढिलोमा) चैत २२, २०८२ सम्म पेस गर्न सक्ने छन्।
स्थानीय बासिन्दाहरूले लक्ष्मी सनराइज बैङ्कको चैनपुर शाखा, ग्लोबल आइएमई बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कको बझाङ शाखा कार्यालय तथा पावर हाउस बिरावगर, बुंगलबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सक्ने छन्।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
सानिगाड हाइड्रोले चैत ८ गतेदेखि आइपिओ निष्कासन गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
