बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधारण शेयर (IPO) मा पहिलो दिनमै माग भन्दा बढि आवेदन प्राप्त भएको छ । कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) का तथ्यांक अनुसार, बुधबार साँझ ५ बजेसम्म ६ लाख ५७ हजार ४०२ लगानीकर्ताले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा ८० लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन गरेका छन्, जसको मूल्य करिब ८० करोड १५ लाख रुपैयाँ बराबर हुन्छ।
यस आधारमा, कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको शेयर १.८४ गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ। बन्दीपुर केवलकारको आईपीओ छिटोमा भदौ १५ गते बन्द हुनेछ भने ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएका शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अहिलेको चरणमा सर्वसाधारण लगानीकर्तालाई आवेदन दिने अवसर खुलाइएको हो।